नर्भिक इन्टरनेशनल अस्पतालले मुख तथा अनुहारको शल्यक्रिया

68

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले मुख तथा अनुहारको शल्यक्रिया (ओरल एण्ड म्याक्जिलोफेसियल सर्जरी) सेवा सुरु गरेको छ।

ओरल एण्ड म्याक्जिलोफेसियल सर्जन डा किशोर भण्डारीको नेतृत्वमा अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो।
दुर्घटनामा परी मुख तथा अनुहारमा लागेका चोटपटक, अनुहारको हड्डी लामो, छोटो या बांगो भएर आकृति अस्वाभाविक भएको अवस्था, मुखको जोर्नी (टेम्पोरोम्यान्डिबुलर ज्वाइन्ट) को समस्या भएका तथा अनुहारको पुनःनिर्माण (फेसियल रिकन्स्ट्रक्सन) का लागि यो सेवा सुरु गरिएको हो।
‘नर्भिक अस्पतालका अत्याधुनिक प्रविधि, उपकरण एवं थ्रीडी प्रिन्टिङ प्रविधि प्रयोग गरेर हामीले सेवा सुरु गरेका हौं,’ ओरल एण्ड म्याक्जिलोफेसियल सर्जन डा भण्डारीले भने, ‘गत महिना हामीले एक महिलामा गरेको अनुहारको आकृति मिलाउने शल्यक्रियाले पनि राम्रो नतिजा प्राप्त भएको छ।’

मुखको माथिल्लो हड्डी अर्थात् म्याक्जिला कम विकसित र तल्लो हड्डी अर्थात् म्यान्डिला धेरै विकसित भएर लामो भएका कारण अनुहार अस्वाभाविक देखिएको र बोल्न र खाना खानसमेत अप्ठेरो अवस्थामा रहेकी महिलामा सफल शल्यक्रिया गरिएको हो।

डा भण्डारीले मुख तथा अनुहारसम्बन्धी कुनै पनि समस्याका लागि नर्भिकमा दक्ष जनशक्ति र अत्याधुनिक उपकरण रहेको बताए। खाँदा या बोल्दा चल्ने कानको अगाडिको जोर्नीमा क्यामेरा छिराएर शल्यक्रिया गर्ने टेम्पोरोम्यान्डिबुलर ज्वाइन्ट (टीमजे) आर्थोस्कोपी तथा दाँत नभएका बिरामीमा गालाको हड्डीमा प्रत्यारोपण (इम्प्लान्ट) गरेर दाँत राख्ने फुल माउथ रिह्याबिलिटेसन (जाइगोम्याटिक इम्प्लान्ट) जस्ता नयाँ उपचार विधि पनि नर्भिकमा सुरु गरिएको डा भण्डारीले जानकारी दिए।

ओरल एण्ड म्याक्जिलोफेसियल सर्जरी सामूहिक कार्य भएको उल्लेख गर्दै उनले यसमा ब्रेसेस लगाउने डाक्टर, प्लास्टिक सर्जन, हेड एण्ड नेक सर्जन, थ्रीडी प्रिन्टिङ गर्ने डिजिटल ल्याबलगायत सबै आवश्यक हुने र सामूहिक सल्लाहमा उच्चतम प्रविधि प्रयोग गरेर गुणस्तरीय सेवा दिइने जनाए ।

यसका साथै मुख तथा अनुहारमा हुने सिस्ट तथा ट्युमरको सर्जरी पनि नर्भिकमा उपलब्ध छ। म्याक्जिलोफेसियल सर्जरी टिमले हेड एण्ड नेक सर्जरी र प्लास्टिक सर्जरीको टिमको सहकार्यमा मुखको क्यान्सरको आधुनिक उपचार सेवा पनि दिने योजना रहेकाे छ ।

के हो फेसियल डिफर्मिटिज करेक्सन सर्जरी?
अनुहारको हड्डी विकास हुने क्रममा सन्तुलन नमिल्दा केही हड्डी लामो, छोटो या बांगो भएर अनुहार अलिकता अस्वाभाविक देखिन सक्छ। जसले गर्दा बोल्न, खाना खान तथा सुत्दा सास लिन अप्ठेरो हुन सक्छ। यसका साथै अनुहारमा विकृति (फेसियल डिफर्मिटिज), चोटपटक तथा खाँदा या बोल्दा चल्ने कानको अगाडिको जोर्नीमा पनि समस्या हुन सक्छ।

यसका साथै सौन्दर्यका समस्या पनि हुन्छन्। यस्ता समस्यालाई आधुनिक प्रविधि, उपकरण तथा थ्रीडी प्रिन्टीङ प्रविधि प्रयोग गरेर नर्भिकमा ओरल एण्ड म्याक्जिलोफेसियल सर्जरी सञ्चालनमा ल्याइएको हो। पछिल्लो एक दशकमा शल्यक्रिया विधामा ठूलो परिवर्तन आएको छ। कृत्रिम बौद्धिकता अर्थात् एआईको प्रयोग गरेर, भर्चुअल सर्जिकल प्लानिङ गरिन्छ, जसलाई थ्रीडी प्रिन्टीङ भनिन्छ। यसमा बिरामीको सीटी स्क्यान, तस्बिरसहित बिरामीको क्लिनिकल डिटेललाई पहिले नै लिएर कम्प्युटरमा अत्याधुनिक सफ्टवेयरमार्फत् कसरी शल्यक्रिया गर्ने, के गर्ने भनेर तय गरिन्छ। त्यसलाई अप्रेसन टेबलमा प्रयोग गर्न थ्रीडी प्रिन्टीङ प्रविधि प्रयोग गरिन्छ।

नर्भिकमा म्याक्जिलोफेसियल सर्जरीका विशेषताहरू ?
अस्पतालमा सबैभन्दा बढी फेसियल ट्रमाका बिरामी पुग्छन्। सडक दुर्घटनामा परेका, लडेर घाइते भएका तथा कुटपिटका चोटले गर्दा अनुहारका हड्डी भाँचिन सक्छन्। अनुहारको हड्डीको उपचार गर्दा नर्भिकमा मिनिमल इन्भेजिभ सर्जरी गर्ने गरिएको छ। अर्थात् इन्डोस्कोपिक दुर्बिनको प्रयोग गरेर मिनिमल इन्भेजिभ सर्जरी गरिन्छ।

यस्तै, आँखा वरिपरीको हड्डी भाँचिदा बाहिर छाला नकाटी पनि सर्जरी गर्न सकिन्छ, जुन नर्भिकमा सुरु गरिएको छ। यसैगरी, खाँदा तथा बोल्दा चल्ने कानको अगाडि जोर्नी हुन्छ, जसलाई टेम्पोरोम्यान्डिबुलर ज्वाइन्ट (टीमजे) भनिन्छ, आजकाल यसमा पनि बढी समस्या देखिने गरेको छ। खानेकुरामा बानी नपरेर या तनावका कारण पनि यस्तो हुन्छ। आँ गर्दा जोर्नीमा आवाज आउने, आँ गर्नै गा¥हो हुने र बिस्तारै मुख बांगिदै जाने हुन सक्छ। यसका लागि गरिने टीएमजे आर्थोस्कोपी नर्भिकमा उपलब्ध छ।

यस्तै, नर्भिकमा फुल माउथ रिह्याबिलिटेसन सेवा पनि उपलब्ध छ। जस्तो-कुनै बिरामीमा दाँतै हुँदैन, जसलाई स्थायी दाँत हाल्न पनि मुखभित्रको हड्डी पर्याप्त हुँदैन। त्यसैले गालाको हड्डी प्रयोग गरेर त्यसलाई प्रत्यारोपण गरी दाँत राखिन्छ। यो विधि पनि नेपालका लागि नौलो हो, जुन नर्भिकमा उपलब्ध छ र बिरामीको पनि सफल शल्यक्रिया भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here