काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रमा पारदर्शिता र सुशासनलाई सरकारले प्राथमिकता दिएको बताउँदै केही व्यक्तिहरूको असहयोगका कारण विकासका योजना प्रभावित भइरहेको संकेत गरेका छन्। प्रतिनिधिसभाको माघ २४ गतेको बैठकमा मन्त्री खड्काले केही पूर्व अधिकारीहरूले सरकारको नीति कार्यान्वयनमा सहयोग नगरेको आरोप लगाए। उनले भने, “ऊर्जा मन्त्रालय माओवादी नेतृत्वमा लामो समय रहँदा गरिएका निर्णयहरूको समेत समीक्षा हुनुपर्छ।
यदि प्रमाणसहित आरोप लागेमा म कुनै पदमा नरहने मात्र होइन, तपाईंहरूको पछाडि झोला बोकेर हिँड्न पनि तयार छु।” ऊर्जा विकासलाई प्रभावित गर्नेहरूविरुद्ध कडा कदम ऊर्जा मन्त्रालयको काम कारबाहीलाई प्रभावित पार्ने प्रयास भइरहेकाले सरकारले पारदर्शी अनुसन्धान अगाडि बढाउने स्पष्ट पार्दै मन्त्री खड्काले भने, “डेडिकेटेड र टंक लाइनसम्बन्धी विवादबारे विगतका सरकारले समाधान नगरेको विषय उठाउँदै अहिलेको सरकारले निष्पक्ष छानबिनका लागि समिति गठन गरिसकेको छ।
२२ अर्बको विषय उठाइन्छ, तर आठ वर्ष सरकारमा रहँदा किन समाधान गरिएन?” उनको संकेत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङतर्फ रहेको अनुमान गर्न सकिन्छ, जसले विगतमा ऊर्जा क्षेत्रमा विभिन्न नीति कार्यान्वयन गरेका थिए। मन्त्री खड्काले कुलमान घिसिङले सरकारको आदेश नमानेको र असहयोग गरेको आरोप लगाउँदै ऊर्जा क्षेत्रमा स्वच्छता आवश्यक रहेको बताए।
निराधार आरोप होइन, प्रमाणका आधारमा छलफल गरौँ ऊर्जा विकासका योजनालाई राजनीतिकरण गर्नु अनुचित भएको उल्लेख गर्दै मन्त्री खड्काले भने, “यदि कोही प्रमाणसहित आउन चाहन्छन् भने म सामना गर्न तयार छु। तर, केवल सञ्चारमाध्यममा आएका अपुष्ट समाचारकै आधारमा आरोप लगाइनु स्वीकार्य छैन।” ऊर्जा स्रोतको दीर्घकालीन व्यवस्थापन, लगानी प्रवर्द्धन, र नीति सुधारमार्फत देशलाई आत्मनिर्भर बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री खड्काले सबै पक्षलाई सकारात्मक भूमिका खेल्न आग्रह गरे।
“हामीले ऊर्जा स्रोतको उचित व्यवस्थापन गर्न सक्यौँ भने लाखौँलाई स्वदेशमै रोजगारी दिन सकिन्छ। निरर्थक विवादमा अल्झिनुको सट्टा समाधानमुखी सोच आवश्यक छ,” उनले जोड दिए। ऊर्जा मन्त्रालयका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै मन्त्री खड्काले सरकारका नीति कार्यान्वयनमा अवरोध गर्ने प्रवृत्तिविरुद्ध आवश्यक निर्णय लिने चेतावनी दिए।
















