नेपाललाई एक वर्षभित्रै ‘ग्रे लिस्ट’ बाट निकाल्न सकिने

38

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जिवी नेपालले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्ट सूचीबाट बाहिर निकाल्न नेपालका राजनीतिक दलहरु प्रतिवद्ध भएर लाग्नुपर्ने जनाएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देश सञ्चालन गर्नेहरुले नै देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्ने बताएका हुन् । एफएटीएफको प्लेनरी तथा वर्किङ ग्रूपले नेपाललाई सम्पत्तिशुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा राखेको छ ।

उनले नेपाललाई ग्रे–लिस्टबाट बाहिर निकाल्न राज्यले खेल्नुपर्ने भूमिकासमेत सुझाए । अर्थविद् डा.नेपालले जोखिमपूर्ण लगानीमा ध्यान दिनुपर्ने, सम्पत्तिशुद्धीकरण र आतङ्कवादमा लगानीसम्बन्धी जोखिमको बुझाइमा सुधार गर्नुपर्ने, हुण्डी कारोबार नियन्त्रण गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्ने निकायलाई सक्षम बनाउनुपर्ने उनको सुझाव छ । सरकारले योजना बनाएर काम गर्दा एक वर्षभित्रै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सम्भव रहेको उनको भनाइ छ ।

‘सम्पत्तिशुद्धीकरण र आतङ्कवादमा लगानीसम्बन्धी जोखिमको बुझाइमा सुधार गर्ने, बाणिज्य बैंक तथा वित्तीय संस्थाहरुलाई जोखिमयुक्त क्यासिनो, सहकारी, बहुमूल्य धातु, रत्न व्यवसाय, घर जग्गा कारोबार क्षेत्रको जोखिममा आधारित नियमनमा सुधार गर्ने, अवैध भुक्तानी सेवा हुण्डी सञ्चालकहरुको नियमन र कारबाही गर्ने, अनुसन्धान र अभियोजनको संख्यामा वृद्धि गर्ने, अनुसन्धान गर्ने निकायको क्षमता र समन्वयमा वृद्धि गर्ने, अपराधबाट आर्जित सम्पत्तिहरुको पहिचान गरी जफत गर्ने, प्राविधिक कमजोरीहरु समाधान गर्ने यति भयो भने मजाले निस्किइहाल्छ । राजनीतिक दलको प्रतिवद्धता नै महत्वपूर्ण कुरा हो । राजनीतिक दल प्रतिवद्ध भयो भने एक वर्षभित्र नै निस्किन सकिन्छ । संसारका कतिपय देशहरु एक वर्षभित्रै ग्रे लिस्टबाट निस्किएका छन्,’– उनले भने ।

एफएटीएफमा सरकारले दुई वर्षभित्र ग्रे लिष्टबाट निस्किने भनेर एक्सन प्लानसमेत स्वीकृत गराइसकेको उनले बताए । निर्धारित मितिभन्दा पहिला नै नेपाल ग्रे लिष्टबाट निस्किन सक्छ भन्ने कुरामा आफू विश्वस्त रहेको उनले जनाए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here