डडेलधुरा । गृहमन्त्री रमेश लेखकले डेढ वर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण थालनी गरेका छन् । लेखकले जिल्ला प्रशासन कार्यालय डडेलधुरा पुगेर डडेलधुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बापतको पहिलो किस्ता रु ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गरेका हुन् ।
“ निजी आवास निर्माणका लागि डेढ वर्ष बितिसक्दा पनि स्थायी आवास बनाउने प्रबन्ध गर्न सकेको थिएन ।” गृहमन्त्री लेखकले भने–“ अब प्रभावित जिल्लामा पुनर्निर्माण द्रुत गतिमा गर्न इकाई कार्यालय नै स्थापना गरेर अघि बढ्ने तयारीका साथ यहाँ आएका हौँ ।”
“जाजरकोटमा प्राविधिक टोली तालिम लिएर इकाई खुलेपछि खटिनेछ ।” उनले भने–“ लाभग्राही छनौट लगायतका विषयमा स्थानीय सरकारको अहम् भूमिका रहन्छ ।”
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा। भीष्मकुमार भुसालले डोटी भूकम्पबाट नौ हजार चार सयको हाराहारीमा प्रभावितको पहिचान भएको बताउँदै अब पुनर्निर्माण गति पाउनेमा जोड दिए ।
“स्थायी आवास निर्माणका लागि रकम वितरणको कार्य थालनी गरेका छौँ ।” कार्यकारी प्रमुख डा भुसालले भने–“ प्रारम्भ विन्दु डडेलधुराबाट भएको छ ।” त्यसैगरी डडेलधुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले डडेलधुराका विभिन्न पालिकामा गरी भूकम्पपछिको पुर्ननिर्माणमा २६ र प्रबलीकरणमा ५२ गरी ७८ लाभग्राही परिवारलाई सम्बोधन गरिने जनाए।


















