स्वास्थ्य उपचारका लागि राणालाई हिरासतबाट छाड्ने तयारी भइरहेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ।
राप्रपा महामन्त्री राणा करिब तीन महिना भारतका विभिन्न अस्पतालमा क्यान्सरको उपचार गरेर गत पुसमा स्वदेश फर्किएका थिए। त्यसपछि उनी राजनीतिमै सक्रिय रहँदै आएका थिए। उनले स्वास्थ्य उपचारका लागि हिरासत मुक्त गरिदिन आग्रह गर्दै आएका थिए।
चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा पक्राउ गरी अदालतबाट अनुमति लिएर प्रहरीले राणामाथि अनुसन्धान गरिरहेको छ।
राणालाई उपचारपछि कानुनी प्रक्रियामा ल्याउने तयारी छ।
चैत १५ गते बेलुकी राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणालाई प्रहरीले पक्राउ गरेको थियो।
राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदीको नेतृत्वमा गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’ को सदस्य सचिवमा मिश्र र आन्दोलन परिचालन समितिमा राणा थिए।


















