काठमाडाैं । संगठनको निर्देशन विपरित सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १ सय ६६ जना सशस्त्र प्रहरी कर्मचारीहरू कारबाहीमा परेका छन्।
सशस्त्र प्रहरी बल नेपालले २ वर्षको अवधिमा संगठनको नीति निर्देशन विपरित सामाजिक सञ्जालमा संगठनको पोशाक लगाई विभिन्न कृयाकलाप गरेको तस्बिर तथा भिडिओ अपलोड गरेको भन्दै कारबाही गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाए ।
कारबाहीमा पर्नेमा प्रहरी नायव निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्म रहेका छन्। उनीहरूले व्यक्तिगत प्रोफाइल मार्फत सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाका भिडिओ र तस्बिर फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको सहप्रवक्ता थापाले जनाए। कारबाहीमा पर्नेमा सशस्त्र प्रहरी नायव निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, वरिष्ठ हवल्दार ९ जना, हवल्दार ५ जना, सहायक हवल्दार १० जना, जवान १ सय २१ र परिचर ३ जना रहेका छन्।
संगठनको नियम विपरित कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमन गर्नको लागी प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन सम्बन्धी शाखा स्थापना गरेको छ।
















