यार्सागुम्बा सङ्कलन थालनी

27

म्याग्दी ।  हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न थालिएको छ ।  धवलागिरि गाउँपालिका–१ गुर्जा, वडा नं।–४ मुदी र रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका बासिन्दाहरु यार्सागुम्बा खोज्न हिमाल फेदीको बुकी पाटनमा पुगेका छन् । गुर्जा, चुरेन र धौलागिरि हिमालको फेदीमा यार्सागुम्बा पाइने गर्छ ।

धवलागिरी गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले गुर्जाका अधिकांश घरबाट यार्सा खोज्न हिमाली क्षेत्रमा गएका बताए। गुर्जामा गत वैशाखको २६ गतेदेखि यार्सा संकलन गर्न खुला गरिएको थियो । गुर्जामा रहेका दुई सय ५० घरपरिवार मध्य एक घरबाट कम्तीमा एक जना यार्सा खोज्न गएका वडा अध्यक्ष छन्त्यालले जनाए।

रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा ९रिम०ले हिउँदेबाली भित्र्याउने र बर्खेबाली लगाउने तथा उपभोक्ता समिति मार्फत सञ्चालित विकास आयोजनाको काम सकेर स्थानीयबासीहरु यार्सागुम्बा खोज्न धौलागिरि हिमाल फेदीको कालीबराह बुकीमा गएका जनाए ।

चिमखोलाबाट करिब ५० स्थानीयबासी यार्सागुम्बा खोज्न बुकीमा गएका छन् । वैशाखको अन्तिम सातादेखि जेठ महिनाको तेस्रो हप्तासम्मका लागि पुग्ने खाद्यान्न, लत्ताकपडा लिएर यार्सा खोज्न बुकी गएका हुन् । अनुकुल मौसम हुदाँ दैनिक एक सय गोटासम्म यार्सागुम्बा संकलन हुने र एक जनाले रु। दुई लाख भन्दा बढी आम्दानी गर्ने जनाइएको छ ।

यार्सा सङ्कलकहरु बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन् । सङ्कलन भएको यार्सा स्थानीय स्तरमा प्रतिगोटा रु। दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा सङ्कलन गर्दै गरेका गमान गर्बुजाले जनाए। यार्सा सङ्कलन हिमाली क्षेत्रका बासीन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको छ । यार्सा टिप्न जानेहरुले देवीदेवताको पूजापाठ गरी काम सुरु गर्छन् । यार्सा सङ्कलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारी बनेको छ ।

यार्सा सङ्कलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् । म्याग्दीमा केहि वर्षअघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरुमा मात्रा घटेको छ । चालु आर्थिक वर्षमा हालसम्म कसैले यार्सागुम्बा संकलनको अनुमति नलिएका डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी गराए।

यार्सागुम्बा सङ्कलन र निकासीका लागि राजस्व तिरेर सङ्कलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ । गत वर्ष आधा किलोग्राम यार्सागुम्बाको लागि छोडपुर्जी जारी भएको थियो । प्रतिकिलो यार्सागुम्बा निकासी गर्न रु। १० हजार राजस्व तिर्नुपर्छ ।

हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा सङ्कलनकर्ताले सङ्कलन भएपछि मात्रै सोही बमोजिमको सङ्कलन पुर्जी काट्ने चलन छ । सर्वसाधारणबाट व्यवसायीहरुले प्रतिकिलो रु। पाँच लाखदेखि रु। छ लाखसम्ममा यार्सा खरिद गर्ने गरेका छन् । हालको बजारमूल्य प्रतिकिलो रु। आठलाखदेखि रु। १० लाखसम्म रहेको जानकार जनाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here