गोरखाको समग्र विकासका लागि बजेट सुनिश्चित गर्न माग

60

काठमाडौं । प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले गोरखाको समग्र विकासका लागि बजेट सुनिश्चित गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद ढकालले ऐतिहासिक जिल्ला गोरखाको पर्यटन, पूर्वाधार र धार्मिक क्षेत्रको समुचित विकासका लागि ठोस बजेट विनियोजन आवश्यक रहेको बताए ।

ढकालले गोरखा जिल्लाको समृद्धि सम्भावना औंल्याउँदै बुढीगण्डकी जलविद्युत् आयोजना, मनकामना तथा गोरखकाली धार्मिक क्षेत्रको विकासमा प्राथमिकतासहित बजेट छुट्याउन माग गरे ।

‘पर्यटन तथा धार्मिक सम्भावनाले भरिपूर्ण गोरखो जिल्लामा सरकारी लगानीको कमीले अपेक्षित विकास हुन सकेको छैन,’ उनले भने, ‘गोरखा बजारबाट बुङ्गकोट, क्यामुनटार, महादेवटार, घाटबेंसी, आरुघाट, तान्द्राङ्ग हुँदै गोर्खा बजारसम्मको हालको कच्ची रिङ्गरोड सडकलाई कालोपत्रे गर्न विशेष बजेट विनियोजन गरियोस् ।’

सो सडक कालोपत्रे भए स्थानीयको आवागमन, व्यापार र पर्यटनमा उल्लेखनीय योगदान पुग्ने बताए । उनले प्रथम शहीद लखन थापा र प्रथम प्रधानमन्त्री भीमसेन थापासँग सम्बन्धित सामग्री र स्थलको खोज तथा संरक्षणमा ध्यान दिन पनि माग गरे ।

झिगटेभन्ज्यांग–अश्रांग–बककर्लाङ्ग–महादेवटार खण्डको कच्ची सडक तथा घाटबेंसी–धादिङ्गको बुट्टार जोड्ने जीर्ण पुलको यथाशीघ्र मर्मत सम्भारका लागि पनि उनले बजेट माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here