पाकिस्तानले सेना प्रमुख जनरल असिम मुनिरलाई फिल्ड मार्सल बनाउने निर्णय

40

एजेन्सी । पाकिस्तान सरकारले सेना प्रमुख जनरल असिम मुनिरलाई फिल्ड मार्सल बनाउने निर्णय गरेको छ।

साथै एयर चिफ मार्सल जहिर अहमद बाबर सिद्धुलाई उनको कार्यकाल पूरा भएपछि पनि पाकिस्तानी वायुसेना प्रमुखका रूपमा यथावत् राख्ने निर्णय पनि पाकिस्तान सरकारले गरेको छ।

यी दुवै निर्णय प्रधानमन्त्री शाहबाज शरिफको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।

प्रधानमन्त्री कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जनरल असिम मुनिरलाई उनको साहसी नेतृत्व, रणनीतिक सोच र भारतविरुद्ध गरिएको सैन्य कारबाहीमा उनले खेलेको महत्त्वपूर्ण भूमिकाका कारण यो पदोन्नति गरिएको हो।’

विज्ञप्तिमा यो निर्णय हुनुभन्दा पहिले प्रधानमन्त्री शाहबाज शरिफले राष्ट्रपति आसिफ अली जरदारीलाई भेटेर उनलाई विश्वासमा लिएको पनि जानकारी गराइएको छ।

पाकिस्तान सरकारले गरेको उक्त निर्णयबारे जनरल असिम मुनिरले भने, ‘म यो सम्मान सम्पूर्ण राष्ट्र, पाकिस्तानको सशस्त्र बल, विशेष गरी नागरिक र सैन्य सहिद र दिग्गजहरूलाई समर्पण गर्छु।’

उनले अगाडि भने, ‘पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्को विश्वासका लागि म आभारी छु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here