एजेन्सी । अर्बपति एलोन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘लागत कटौती कार्यदल’को नेतृत्वका लागि आफ्नो समय “अन्त्य” हुन लागेको जनाएका छन्।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्ट गर्दै मस्कले ‘डोज’ (डिपार्टमेन्ट अफ गभर्न्मेन्ट एफिसियन्सी) नामक सरकारी दक्षता विभाग चलाउन सहयोग गर्ने अवसर दिएकोमा ट्रम्पलाई धन्यवाद दिएका छन्।
उनलाई “विशेष सरकारी कर्मचारी” को रूपमा तोकिएको थियो। उनलाई प्रत्येक वर्ष १३० दिन काम गर्न अनुमति दिएको थियो। जनवरी २० मा ट्रम्पको सपथग्रहणपछि हिसाब गर्दा, उनले मे महिनाको अन्त्यतिर त्यो सीमा पुग्ने बताएका छन्।
मस्कले बिहीबार एक्समा लेखेका छन्, “विशेष सरकारी कर्मचारीको रूपमा मेरो कार्यकाल समाप्त हुँदै गर्दा म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मलाई अनावश्यक खर्च कम गर्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु।”
उनले थप लेखेका छन्, “सरकारी दक्षता विभागको मिसन समयसँगै बलियो हुँदै जानेछ र यो सरकारमा बानी बन्नेछ।” यस घोषणासँगै मस्कको ट्रम्प प्रशासनभित्रको अनौपचारिक तर महत्त्वपूर्ण भूमिका सकिएको छ।


















