पूर्वसांसद मोहम्मद अफताब आलम कारागारबाट छुटे

96

काठमाडौं। कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम कारागारबाट छुटेका छन्  । अदालतले सफाइको पत्र पठाएपछि उनी ललितपुरस्थित नख्खु कारागारबाट छुटेका हुन् । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई सफाइ दिएको हो ।

पूर्वसांसद आलममाथि २०६५ सालमा भएको राजपुर बम विस्फोटपछि घाइतेहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोप लागेको थियो। घटनाका प्रत्यक्षदर्शीहरुले उक्त समय आफूलाई बचाइदिन गुहारेका घाइतेहरुलाई आगोमा हालेर हत्या गरिएको दाबी गरेका थिए। उनीहरूका अनुसार, घटनालाई सार्वजनिक हुन नदिन अफताब आलमले आफ्ना सहयोगीसँग मिलेर नजिकैको इँटाभट्टामा आगोमा हालेर हत्या गरेका थिए।

त्यसक्रममा मृत्यु भएका भनिएका व्यक्तिहरुको बारेमा तत्कालीन प्रहरीले विस्फोट नभएको भन्दै मुचुल्का तयार पारेका थिए भने सरकारी वकिल कार्यालयले पनि मुद्दा नचलाउने सुझाव दिएका थिए। तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले समेत मृत्यु पुष्टि हुन नसकेको भन्दै २०६५ सालमा मुद्दा नचलाउने निर्णय गरेका थिए।

सर्वोच्चको आदेशपछि २०७६ असोज १९ गते पक्राउ परेका आलमलाई रौतहट जिल्ला अदालतले २०७६ कात्तिक २९ गते पूर्पक्षका लागि थुनामा पठाएको थियो । २०८१ वैशाख १३ गते रौतहट अदालतले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here