काठमाडौं । सरकारले विपद् व्यवस्थापन कोषमा रु चार अर्ब ६५ करोड २४ लाख मौज्दात रहेको जानकारी दिएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको जानकारी गराए ।
कोशीमा रु छ करोड, ९० लाख, मधेसमा रु ११ करोड ७८ लाख, बागमतीमा रु सात करोड ५८ लाख, गण्डकीमा रु २५ करोड, लुम्बिनीमा रु छ करोड ५० लाख, कर्णालीमा रु नौ करोड ५२ लाख र सुदूरपश्चिम प्रदेशमा रु ११ करोड ८९ लाख मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बाँस्तोलाले ७७ वटै जिल्लाका कोषमा रु ६९ करोड पाँच लाख मौज्दात रहेको जानकारी दिए । प्राधिकरणले यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक तयारी तीव्र गरिएको र विभिन्न निकायलाई जिम्मेवारीसमेत तोकेको उनले जनाए ।
उनले भने,“सबै क्लष्टरलाई आपतकालीन अवस्थाका लागि पूर्ण तयारीसहित जिम्मेवारी तोकिसकिएको छ । विपद्का घटना भइहाले तत्काल परिचालन हुने गरी सबै तयारीका काम सकिएको छ ।” कोषमा मौज्दात रहेको रकम आपतकालीन अवस्थामा आवश्यकता अनुसार तत्काल परिचालन हुने उनले जनाए ।
















