काठमाडौं । राजसंस्था फर्काउन गठित संयुक्त जनआन्दोलन समितिले आन्दोलनका कार्यक्रमलाई जिल्लाकेन्द्रित गर्ने भएको छ ।
संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बुधबार बसेको संयुक्त बैठकले पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुप परिमार्जन गरेको हो ।
संयोजक सुवेदीले बैठकको भावनालाई दृष्टिगत गर्दै संयुक्त जनआन्दोलन समितिले विभिन्न ६ बुँदे कार्य निर्धारण गरेको जनाएका छन् ।
त्यसमा काठमाडौं उपत्यकाका विभिन्न पालिकाहरूमा विरोध प्रदर्शनलाई जारी राख्ने, काठमाडौं अतिरिक्त देशको विभिन्न प्रमुख शहरहरूमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गर्ने, आन्दोलनलाई अझ सशक्त प्रभावकारी र उपलब्धिमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने उल्लेख छ ।यस्तै, देशका विभिन्न जिल्लामा प्रतिवद्ध र जुझारु युवा कार्यकर्ताहरुको समूह तयार गर्ने र देशका विभिन्न जिल्लाहरूमा आन्दोलनका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौंकेन्द्रित गरिने विज्ञप्तिमा भनिएको छ ।


















