विराटनगर । इजरालय र इरानबीचको जारी युद्धमा फसेका विराटनगरका मेयर नागेश कोइराला बिहीबार राति गृहनगर आइपुगेका छन् ।
युद्धकै क्रममा इजरालयको सिफाइम शहरबाट दुई दिनअघि स्थलमार्ग हुँदै जोर्डन र त्यहाँबाट कुवेत हुँदै भारतको मुम्बई आएका मेयर कोइराला मुम्बइबाट नयाँ दिल्ली र त्यहाँबाट हिजो अपरान्ह करिब ५ बजे काठमाडौं उत्रिएका हुन् । काठमाडौंमा उत्रिएसँगै उनी विराटनगर राति करिब ८ बजे आइपुगेका हुन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग वास्तविक युद्धलाई नजिकबाट नियाल्न पाएको बताए । आकाशबाट एकैपटक १ सय बढी क्षेप्यास्त्र जमिनमा खस्ने र त्यसपूर्व बज्ने सूचनाको साइरनले जनजीवनलाई प्रभावित बनाउने उनले बताए ।
उनले भने, “मैले पनि यसप्रकारको घटना टेलिभिजन र चलचित्रमा देखेको हो । तर वास्तविक रुपमा घटनास्थलमा उभिएर दृष्य नियाल्दा मानसिक रुपमा तनाव हुने अनुभव मेरो पनि रह्यो।”
युद्धसँगै त्यहाँको जीवनमरणलाई नजिकबाट नियालेका मेयर कोइरालाले भने, “सो क्षेत्र युद्धग्रस्त हो, थाहा थियो । इजरालयले हमास समूह, प्यालेष्टाइन गाजा क्षेत्रमा गरेको आक्रमणबारे समाचारमा हेर्दै पढ्दै आएको थिए । यसपटक नजिकबाट भोग्न पुगे । तर, मलाई मेरो विराटनगरवासीको साथ माया र स्नेहले प्रेरित गर्यो । मलाई त्यहाँस्थित राजदुत धनप्रसाद पण्डित, राजदुतावास परिवारले सहयोग गरे । मैले भुल्न नसक्ने याद लिएर फर्किएको छु । सबैलाई धन्यवाद दिन चाहान्छु ।”
युद्धका क्रममा नेपालीहरुको अवस्थाबारे जानकारी दिँदै मेयर कोइरालाले भने, “त्यहाँस्थित दुतावासले दिएको जानकारी अनुसार इजरालयका विभिन्न क्षेत्र सरकारीतवरबाट श्रम, र अन्य विधामा पुग्ने नेपालीको संख्या करिब २ हजार रहेको छ । तर, त्यसबाहेक अन्यत्रबाट पुग्ने र काम गर्नेको अवस्था भने यकिन छैन । जारी युद्धका क्रममा उनीहरु नेपाल फर्किने भन्दापनि त्यही कसरी सुरक्षित बस्न सकिन्छ, त्यसमा बढि केन्द्रीत रहेकाछन्।”
मध्यपूर्वी राष्ट्रको युद्धका बारेमा धेरै सुनिएको बताउँदै उनले ठूलठूला क्षेप्यास्त्र खस्दापनि मानवीय क्षति ठूलो नहुनेमा एक कारण त्यहाँ बनाइएका सेल्टर र बंकर रहेको प्रस्टाए । सन् १९९० अघि बनेका घरको भित्र सबैभन्दा भुइँ तल्लामा सेल्टर र बंकर बनाइएको हुने बताएका उनले भने, “अहिले बनेका नयाँ घरमा भने भवनको तल्लापिच्छे सुरक्षित रहने बासस्थान बनाइएको हुने बताए । जसका कारण मानवीय क्षति धेरै ठूलो हुने संभावना कम रहेको मेयर कोइरालाको धारणा छ।”
“विराटनगरबाट इजरायल पुगेको तीनदिनसम्म जनजीवन सहज रहेका र त्यसअवधिमा अध्ययन अनुसन्धानका कामहरु हुदै गएको बताएका मेयर कोइरालाले भने, तीनदिनसम्म हामी सबैले राम्रो अध्ययन गर्ने अवसर पायौं । तीनदिनपछि नै इजरालय र इरानबीच द्धन्द चर्कियो । केहीदिनमा सकिएला भनेको त्यो हुन सकेन । हाम्रो कार्यक्रमनै प्रभावित हुन पुग्यो।”
विषेशगरी राति ११ बजेबाट विहान ४ बजेसम्म युद्धका घटनाक्रम, क्षेप्यास्त्र खस्ने क्रम बढि हुने उनले बताए । युद्धका कारण सो क्षेत्रका मानिसहरुमा मानसिक रोगको बढि समस्या देखिएको उनको भनाई छ । उनले भने, “हरेक रात निदाउन अघि, उनीहरु विहान सकुशल हुन सक्ने कि नसक्ने चिन्तामा हुन्छन् । बारम्बार क्षेप्यास्त्र खस्ने बारे सूचना दिने ठूलो साइरनको आवाजले समेत उनीहरुलाई त्रसित बनाउने गरेको छ।”
इरानले खसाल्ने क्षेप्यास्त्रबारे जानकारी मोबाइलको एप्समा आउने बताउँदै उनले मोबाइलमा सन्देश प्रवाह हुना साथ सबैजना नजिकैको सेल्टर, बंकरसम्म पुग्ने र त्यहाँसम्म नपुगे लम्पसार भएर सुतिदिने गरेको पाएको जनाए ।
सुरक्षित रहने साइरन बज्नासाथ बढिमा डेढमिनेट भित्र मानिसले सुरक्षित आश्रयस्थलसम्म पुगिसक्दा जोगिने संभावना बढि हुने उनले बताए । यद्धपी, सेल्टरमा बसेको वा बंकरमा पसेको १० देखि १५ मिनेटपछि बाहिर निस्कने अवस्था बन्ने उनको भनाइ छ । बंकरमा प्रवेश गरेको १५ मिनेटमा क्षेप्यास्त्र खसेको वा निस्तेज भएको खबरसंग सर्वसाधारणको दैनिकी सहज देखिने गरेको मेयर कोइरालाले जनाए ।
इजरालय सरकारको निमन्त्रणमा कृषि र मरभूमिमा हुने खेतीको अध्ययन र अनुसन्धानका लागि जेठ २६ गते विराटनगरबाट प्रस्थान गरेका हुन् ।


















