काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा रहेको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानीको उत्पादनका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरूसँग छलफल गरेका छन्।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा र भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो।
चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिल साइटमा ११२.१ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्यासको भण्डार रहेको अनुमान गरिएको छ।
प्रधानमन्त्री ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी परीक्षण मिथेन ग्यासको उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिँदै यसका लागि आवश्यक बजेट र सहजीकरणमा सरकारबाट कुनै कमी नहुने स्पष्ट पारे।
यसैगरी, धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वी नवलपरासीमा भइरहेको ड्रिलिङ कार्य तथा फलाम खानीको सम्भाव्यता अध्ययन र प्रक्रिया अगाडि बढिरहेको विषयमा प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ।
कम्पनीले आगामी सय वर्षका लागि पुग्ने गरी करिब ९९ मिलियन टन फलामको धाउ भण्डार उत्खनन गर्न सकिने जानकारी गराएको छ। कम्पनीको प्रस्तुतिअनुसार नियमित प्रक्रियाबाट २०८५ सालभित्रमा फलाम/स्टिल उत्पादन गर्न सकिनेछ।
प्रधानमन्त्री ओलीले २०८५ सालअघि नै फलाम/स्टिल उत्पादन गरी बिक्री र उपयोगमा ल्याउने गरी तयारी गर्न निर्देशन दिए। उनले यस कार्यका लागि स्रोत, साधन र कानुनी सहजीकरणमा सरकारले सबै प्रबन्ध गर्ने स्पष्ट पारे।
छलफलमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, दैलेखका सांसदहरूलगायत सहभागी थिए।


















