रौतहट । रौतहटको कटहरिया नगरपालिकामा पछिल्लो समय नगर प्रमुख अजय प्रकाश जैसवाल र उपप्रमुख रिता देवी यादवबीचको सम्बन्धमा उल्लेख्य परिवर्तन देखिएको छ।
२०७९ सालको स्थानीय निर्वाचनपश्चात दुई शीर्ष जनप्रतिनिधिहरूबीच निरन्तर विवाद र मतभेद देखिँदै आएको थियो। तर हालै सम्पन्न १०औं नगर सभामा दुबै जना एकै मंचमा आपसी समन्वयमा प्रस्तुत भएपछि स्थानीयवासीबीच कौतुहलता बढेको छ। स्थानीयहरू प्रश्न गरिरहेका छन् के अहिले देखिएको मेलमिलाप जनताको सेवा र हितका लागि हो, वा कुनै निजी स्वार्थ पूर्तिको तयारी?” नगर प्रमुख र उपप्रमुखबीच पहिले प्रायः आरोप–प्रत्यारोप र कार्यसम्पादनमा असहमतिका घटनाहरू देखिँदै आएका थिए। तर पछिल्लो समय दुबै जना एउटै धारमा देखिनुले नयाँ राजनीतिक समीकरणको संकेत गरेको विश्लेषकहरू बताउँछन्।
कटहरिया नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र (PHC) सम्म पुग्ने बाटोमा वर्षातको पानी जमेर हिँड्नै नसक्ने अवस्था छ। स्थानीयवासीहरू स्वास्थ्य सेवा लिन पुग्दा चिप्लिएर लड्ने, फोहोर पानीमा हिँड्नुपर्ने जस्ता समस्या झेलिरहेका छन्। तर नगरपालिकाले यसतर्फ ध्यान नदिएको गुनासो छ। त्यस्तै, कटहरिया बजार मधेस प्रदेशकै प्रमुख बजारहरूमध्ये एक भए पनि यहाँ सार्वजनिक चर्पीको अत्यन्त दयनीय अवस्था छ। प्रयोगमा रहेको एक मात्र शौचालय फोहोरले भरिएको छ। स्वच्छता र सार्वजनिक स्वास्थ्यप्रति सम्बन्धित निकायको लापरवाही खुलेरै देखिन्छ।
दुबै शीर्ष पदाधिकारी हाल नगर विकास र बजेट कार्यान्वयनको नाममा “एकमत” देखिँदा जनतामा आशंका उत्पन्न भएको छ। कतिपयले यसलाई भ्रष्टाचारको गठबन्धनको सुरुवातको रूपमा हेरेका छन्। “हिजो झगडा देखाउने, आज मेलमिलाप गरेर आफू अनुकुल काम गर्न खोज्ने” भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
जनप्रतिनिधिहरूबीचको बढ्दो सहकार्य यदि सार्वजनिक सेवा सुधारमा केन्द्रित हुने हो भने यसलाई सकारात्मक परिवर्तनको रूपमा स्वागत गर्न सकिन्छ। तर, यदि यो केवल निजी स्वार्थ, ठेक्का–कमिशन र बजेट हिनामिना जस्ता उद्देश्यका लागि हो भने यसको मूल्य जनताले चुकाउनुपर्नेछ।
दिपेश कुमार शाह


















