शिशुको काठमाडौंमा लगेर उपचार गर्ने क्रममा मृत्यु

23

खोटाङ।  जिल्ला अस्पताल खोटाङमा जन्मिएका शिशुको काठमाडौंमा लगेर उपचार गर्ने क्रममा मृत्यु भएको छ ।

शल्यक्रियामार्फत् जन्माइएका शिशुलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको थियो ।

शिशुलाई समस्या देखिएपछि राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत आमासहित शिशुलाई हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको थियो । जिल्ला अस्पतालमा सोमबार शल्यक्रियामार्फत् जन्मिएका शिशुको काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाका जानुका खत्री र सर्वकुमार खत्रीको दोस्रो सन्तानका रूपमा जन्मिएका शिशुको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् । उद्धार गरिएका शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्यावस्था सामान्य रहेको जनाइएको छ ।

जन्मिएलगत्तै श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि थप उपचारका लागि शिशुलाई आमासहित काठमाडौं पठाइएको अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाले बताए ।

जन्मिने समय एक हप्ता नाघेपछि पनि व्यथा नलागेपछि शल्यक्रियामार्फत् बच्चा निकालिएको अस्पतालले जनाएको छ । तीन पटकसम्म औषधि चलाउँदा समेत व्यथा नलागेपछि शल्यक्रिया गरिएको डा. सङ्ग्रौलाले बताए । शिशुको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीले घटना भएको आरोप लगाएका छन् ।

गत असार २२ गते ५० शय्यामा स्तरोन्नति गरिएको जिल्ला अस्पतालमा दक्ष जनशक्ति र आवश्यक उपकरण नहुँदा उपचारमा आउने बिरामीका लागि दैनिकजसो हेलिकप्टर चार्टर गरेर अन्यत्र लैजानुपर्ने बाध्यता छ ।

विनापूर्वाधार कोशी प्रदेश सरकारका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति भएको घोषण गरेदेखि नै आलोचना शुरू भएको थियो ।

विक्रम संवत् २०४९ वैशाख १ गते स्थापना भएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नतिका लागि निर्माणाधीन भवन अलपत्र अवस्थामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here