काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेर अभिव्यक्ति दिएका नेकपा एमालेका थप तीन जना नेता–कार्यकर्तामाथि पार्टीले स्पष्टीकरण सोधेको छ।
एमाले निकट नेपाल खेलकुद महासंघले स्थायी कमिटी सदस्यसहित तीन जनाविरुद्ध अनुशासन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरण सोधिएको स्रोतले जनाएको छ। यसका साथै उनीहरूमाथि सामाजिक सञ्जालमा पार्टीबारे अराजक र अनुशासनहीन अभिव्यक्ति दिएको आरोपसमेत लगाइएको छ।
पछिल्लो समय विद्या एमालेको सक्रिय राजनीतिमा फर्किने कुराले एमालेमा चर्को विवाद र बहिष्कारको अवस्था सिर्जना भएको देखिन्छ। उनको सदस्यता नवीकरण नगरिएका कुरादेखि उनको पक्षमा लाग्नेलाई स्पष्टीकरण दिने कुराले एमालेमा देखिएको आन्तरिक विभाजनका उदाहरण हुन्।
यसअघि पनि एमाले नेतृत्वले भण्डारीको पक्षमा खुलेर सार्वजनिक रूपमा अभिव्यक्ति दिने युवा संघलगायत विभिन्न भ्रातृ संगठनका नेता तथा कार्यकर्ताहरूमाथि स्पष्टीकरण सोध्नुका साथै कारबाही गरिसकेको छ।

















