भेनेजुएलाका राष्ट्रपतिलाई पक्रन सहयोग गर्नेका लागि पुरस्कार पाँच करोड डलर दिइने

24

एजेन्सी । लागुऔषध तस्करहरूसँग सम्बन्ध रहेको भन्दै अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्रन सहयोग गर्नेका लागि दिइने पुरस्कार दोब्बर पारेर पाँच करोड डलर पुर्‍याएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रूबियो र महान्यायाधिवक्ता पाम बन्डीले बिहीबार पुरस्कार बढाएको घोषणा गरेका हुन्।

उनीहरूले मदुरोलाई अमेरिकामा लागुऔषध तस्करीलाई सहयोग गरेको आरोप लगाएका छन्। कम्युनिष्ट भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गर्न पुरस्कार घोषणा हुनुलाई प्रतीकात्मक कदमका रूपमा हेरिएको भनेर फाइनानसियल टाइम्सले लेखेको छ।

‘एक दशकभन्दा बढी समयदेखि मदुरो अमेरिकामा लागुऔषध तस्करीका लागि जिम्मेवार कार्टेल डे लोस सोलेसका नेता रहेका छन्,’ रुबियोले विज्ञप्ति निकाल्दै भनेका छन्।

बन्डीले पनि भिडिओ सन्देशमा सो कार्टेलसँगै सिनलोआ र ट्रेन डे अरागुवा जस्ता विदेशी आतंकवादी संगठनहरूको प्रयोग गरी मदुरोले अमेरिकामा घातक लागुऔषध र हिंसा भित्र्याएको आरोप लगाइन्। अमेरिकी सरकारले मदुरोसँग सम्बन्धित टनौं कोकिन जफत गरेको पनि उनले दावी गरिन्।

मदुरोले २०२४ मा भएको चुनावमा धाँधली गरेर गत जनवरीमा नयाँ कार्यकाल सुरू गरेपछि तत्कालीन जो बाइडेन सरकारले उनीमाथि राखेको पुरस्कार एक करोड ५० लाख डलरबाट बढाएर दुई करोड ५० लाख डलर पुर्‍याएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालमा भेनेजुएलामाथि तुलनात्मक रूपमा नरम नीति लिएका छन्।

उनले अमेरिकी कम्पनी शेभरोनलाई भेनेजुएलामा तेल उत्खनन्का लागि लाइसेन्स समेत दिएका थिए। विदेश मन्त्री रुबियोले लामो समय देखि भेनेजुएला प्रति कडा नीति लिए पनि ट्रम्पले भेनेजुएलाको आर्थिक अवस्था उकास्न मद्दत पुग्ने सो निर्णय लिएका थिए।

यस्तो बेला अमेरिकाले मदुरोलाई पक्राउ गर्न पुरस्कार बढाउने अपेक्षा गरिएको थिएन। भेनेजुएलाले पछिल्लो निर्णयको भर्त्सना गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here