राष्ट्रिय महिला क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि प्रस्ताव

20

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजनका लागि प्रस्ताव आह्वान गरेको छ।

क्यानले इच्छुक र योग्य व्यावसायिक संस्थाहरूलाई आफ्नो प्रस्ताव पेस गर्न सार्वजानिक सूचना आह्वान गरेको हो। क्यानका अनुसार, यो प्रायोजन सम्झौता तीन वर्षको हुनेछ र यसको न्यूनतम वार्षिक मूल्य रु. ६० लाख तोकिएको छ।

प्रायोजकको ब्रान्ड महिला टोलीको जर्सीको अगाडिपट्टि प्रमुख स्थानमा राखिने जनाइएको छ। तीन वर्षपछि आपसी समझदारीमा नवीकरणको सम्भावना पनि रहने छ।

प्रस्ताव पेस गर्ने अन्तिम मिति अगस्ट ३०, २०२५, बिहान ११ बजे सम्म तोकिएको छ। आवेदनका साथमा इच्छुक कम्पनीले ३० हजार रुपैयाँ धरौटीका रूपमा बुझाउनुपर्ने छ।

प्रस्तावका साथमा कम्पनी दर्ता प्रमाणपत्र, भ्याट/प्यान प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, व्यवसाय सञ्चालन इजाजतपत्र, कम्पनीको प्रोफाइल र विगतका प्रायोजन अनुभव (यदि भएमा) जस्ता आवश्यक कागजातहरू पनि पेस गर्नुपर्नेछ।

महिला क्रिकेटको बढ्दो लोकप्रियता र व्यावसायिक सम्भावनालाई ध्यानमा राख्दै यो प्रायोजनले टोलीको विकासमा महत्त्वपूर्ण योगदान पुर्यााउने अपेक्षा क्यानले गरेको छ।

यसअघि क्यानले पुरुष राष्ट्रिय क्रिकेट टिमका लागि सेयर कारोबार गर्ने नासा सेक्युरिटीसँग ७ करोड भन्दा बढी मूल्यमा प्रायोजन सम्झौता गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here