करिब ३५ परिवार रहेको यस बस्तीमा, स्थानीय सरकारले खानेपानी योजना निर्माण नगरेका कारण समस्या वर्षौंयता समाधान हुन हो ।स्थानीय करण बोहराका अनुसार, गाउँमा पटक–पटक खानेपानीको माग गरे पनि चासो नदिएपछि, प्रत्येक परिवारबाट २ हजार रुपैयाँका दरले चन्दा उठाएर आगिचौड भन्ने ठाउँमा पानीको मुहान बनाइएको थियो। तर, घर–घरबाट उठाइएको रकममा बनेको खानेपानी योजना अहिले जिर्ण अवस्थामा पुगेको छ।
२०७८ सालमा स्थानीय सरकारले मुहानमा ट्यांकी निर्माण सुरु गरे पनि काम पूरा नगरेपछि ट्यांकी खुला रह्यो, जसका कारण स्थानीयहरू अहिले फोहोर पानी पिउन बाध्य भएका छन्।त्यसयता वडा सरकार र स्थानीय सरकार दुवैले कुनै ध्यान नदिँदा योजना बीचमै अलपत्र परेको बताइएको छ। आगिचौडको एउटै ट्यांकीको पानी कुवा गाउँका ३५ परिवार मात्र नभई वडा कार्यालय, स्वास्थ्य केन्द्र खोल्लेक र गैतोला गरि तीन ठाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन्।




















