काठमाडौं । नेपाली फुटबल टाेली एपिएफ फुटबल क्लबले एएफसी महिला च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो खेलमा हार बेहोर्न बाध्य भएकाे छ ।
थाइल्याण्डको कलेज अफ एसियन स्कोलर्सले बिहिबार एपिएफलाई ४-० ले हराएकाे छ । स्कोलर्सको जितमा सबै गोल कानियानात क्षतबुक्तरले गरिन्। लगातार दोस्रो हार पछि एपिएफ समूह चरणबाट बाहिरिएको छ।
उज्वेकिस्तानको कार्सी स्टेडियममा भएको खेलमा एपिएफकी रश्मिकुमारी घिसिङले पाएको दुई उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकिनन्।
खेलको ३३ औं मिनेटमा कलेज अफ एसियन स्कोलर्सले अग्रता बनायो। क्लोज रेन्जबाट कानियानातले गोल गरिन्।
पहिलो हाफको इन्ज्युरी समयमा कानियानातले अग्रता दुगुना गरिन्। दुई डिफेन्डरलाई बिट गर्दै किपर एन्जिला तुम्बाप्पो सुब्बालाई चिप गरेको बल गोलमा परिणत भयो। यो गोलमा स्कोलर्सले पहिलो हाफमा २-० को अग्रता बनाएकाे थियाे ।
एपिएफले दोस्रो हाफमा पनि सुधारिएको गतिलाे प्रदर्शन गर्न नसकेपछि ५५ औं मिनेटमा कानियानातले ह्याट्रिक पूरा गरिन्। गीता रानाले क्लियर गर्न नसकेको बलमा किपर एन्जिलासँगको वान भर्सेज वानमा कानियानातले सहजै गोल गरिन्।
खेलको ६३ औं मिनेटमा तामोवान रक्षाफाप्दीको क्रसमा किपर एन्जिलाले रोके पनि रिबाउन्डमा कानियानातले गोल गरिन्।
नेपालको लिग विजेता एपिएफ आजको खेलमा सबै पक्षमा चुक्यो। कमजोर डिफेन्स हारको प्रमुख कारण बन्यो। मिड र फरर्वाडलाइन पनि निराशाजनक रहयो। ३ खेलमा एपिएफले ७ गोल खाँदा गोल गर्न सकेको छैन।
यसअघि पहिलो खेलमा एपिएफ घरेलुु टोली एफसी नासाफसँग ३-० ले हारेको थियो। एपिएफले यो छनोट दोस्रो पटक खेलेको हो। अहिलेसम्म गोल गर्न भने सकेको छैन्।
अब समूह चरणको आफ्नो अन्तिम खेल एपिएफले आइतवार साउदी अरेबियाको अल नासारसँग खेल्नेछ। समूहको विजेता अघिल्लो चरणमा पुग्नेछ।


















