काठमाडौं । भदौ १९ गते इन्द्रध्वजा ठड्याउँदै सुरु भएको इन्द्रजात्राको दोस्रो दिन शुक्रबार राजधानीको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा सम्पन्न भएको छ ।
यस दिन पास्नी गरेका, तर बेल विवाह नगरेका कन्याहरूलाई पूजा गरी कुमारी पूजाको परम्परा निर्वाह गर्ने चलन छ ।
धार्मिक विश्वासअनुसार कुमारी पूजाले देशमा अनिष्ट टर्छ, बालबालिका निरोगी रहन्छन् र जीवनमा आइपर्ने वाधा अवरोधहरू हट्छन् । विधिपूर्वक सम्पन्न हुने यस पूजापश्चात् सहभागी बालिकालाई तलेजु भवानीसहित मूलचोक, नासल चोक तथा वरपरका देवीदेवताका दर्शन गराइन्छ। यसरी धार्मिक विधिअनुसार सम्पन्न हुने कुमारी पूजाले इन्द्रजात्रालाई अझै वैभवमय बनाउने मानिन्छ ।


















