अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सीबीच वार्ता

16

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार दक्षिण कोरियाको बुसानमा करिब १०० मिनेट लामो वार्ता भएको छ।

व्यस्त तालिकाका कारण दुवै नेताको भेट बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो।

यो ६ वर्षपछि भएको उनीहरूको पहिलो प्रत्यक्ष भेट हो।

वार्ताका विषयबारे विस्तृत जानकारी अझै सार्वजनिक गरिएको छैन, तर बैठकलाई चीन–अमेरिका सम्बन्धमा नयाँ चरणको सुरुवात भनेर हेरिएको छ।

बैठक अघि ट्रम्पले भनेका थिए, ‘आजै चीनसँग व्यापार सम्झौता साइन हुन सक्छ।’

वार्ताका क्रममा उनले थपे, ‘सी निकै कडा वार्ताकार हुन् । यो सजिलो कुरा होइन, तर हामी एकअर्कालाई राम्ररी चिन्छौं।’

वार्ता सुरु हुनुअघि दुवै नेताले हात मिलाएर अभिवादन गरेका थिए। ट्रम्पले जिनपिङलाई ‘एक सम्मानित र महान देशका महान नेता’ भन्दै प्रशंसा गरे।

एयरपोर्टमै भेट 

सीएनएनका अनुसार, दुवै नेताको व्यस्त समयतालिका र सुरक्षाका कारण भेट विमानस्थलमै तय गरिएको हो।

ट्रम्प एक दिनअघि एशिया भ्रमण सकाएर फर्किन लागेका थिए, तर कार्यक्रम भिडिएकाले भोलिपल्ट बिहान एयरपोर्टमै वार्ता गर्ने निर्णय गरिएको थियो।

यसरी समयको दबाब र सुरक्षा जोखिमबाट बच्न यो बैठक विमानस्थलमा सम्पन्न भयो।

दुवैतर्फबाट ७–७ जना सहभागी

अमेरिकाबाट ट्रम्पसँग विदेशमन्त्री मार्को रुबियो, व्यापार प्रतिनिधि जेमिसन ग्रियर, अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्यमन्त्री हावर्ड लुटनिक, चीफ अफ स्टाफ सूजी विल्स, र चीनस्थित अमेरिकी राजदूत डेभिड पर्ड्यू सहभागी थिए।

चीनतर्फबाट सीका साथमा कै क्यू, विदेशमन्त्री वाङ यी, उप विदेशमन्त्री मा झाओक्सू, उप प्रधानमन्त्री हे लिफेङ, वाणिज्यमन्त्री वाङ वेन्टाओ र राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ सान्जी उपस्थित थिए।

सीले के भने ? 

बैठकमा सी जिनपिङले ट्रम्पको ‘शान्ति प्रयास र युद्ध रोक्ने प्रयास’ को प्रशंसा गरे।

उनले भने, ‘चीन र अमेरिका धेरै विषयमा सहमत नहुन सक्छन्, तर संवाद र सहकार्य दुवै देशका लागि अपरिहार्य छन्।’

सीले जोड दिए, ‘दुवै देशले स्थायित्वको दिशामा अघि बढ्नुपर्छ। चीनको विकास ट्रम्पको दृष्टिकोणसँग मेल खान्छ।’

एशिया भ्रमण सकेर ट्रम्प एयर फोर्स वनमार्फत अमेरिका फर्किएका छन्।अहिले सबैको नजर अब यो वार्ताबाट के समझदारी भयो र त्यसको प्रभाव अमेरिकी–चिनियाँ सम्बन्धमा कस्तो पर्छ भन्नेमा केन्द्रित छ।

बैठकको बीचमा चिनीयाँ शेयर बजार १० वर्षकै उचाइमा

वार्ता सुरु हुनासाथ चीनको शेयर बजारमा ठूलो उछाल देखियो।

सांघाई कम्पोजिट इन्डेक्स ०.२ प्रतिशत बढेर ४,०२५.७० मा पुगेको छ । यो २०१५ पछि सबैभन्दा उच्च स्तरको वृद्धि हो।

हङकङको ह्याङ सेङ इन्डेक्स पनि ०.६ प्रतिशत बढेको छ।

विश्लेषकका अनुसार, अमेरिका–चीन व्यापार तनाव घट्ने आशा ले लगानीकर्तालाई आत्मविश्वास दिएको छ।

(एजेनन्सीहरूको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here