एजेन्सी । टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका शेयरधनीहरूले करिब १ ट्रिलियन डलर (१० खर्ब डलर) बराबरको कीर्तिमानी पारिश्रमिक प्याकेज स्वीकृत गरेका छन्।
बीबीसीका अनुसार, यो अभूतपूर्व सम्झौता ७५ प्रतिशत मतका साथ पारित भएको थियो र बिहीबार कम्पनीको वार्षिक साधारण सभामा उपस्थित दर्शकहरूले यसलाई ठूला तालीसहित स्वागत गरे।
यो सम्भावित पारिश्रमिकको विशाल परिमाणका कारण आलोचना पनि भएको छ । तर यो पारिश्रमिक दिन अस्वीकार गरे मस्कले कम्पनी छोड्न सक्ने र उनको अभाव कम्पनीलाई महंगो पर्ने भएकोले टेस्लाको बोर्डले स्पष्ट पारेको छ ।
आगामी दशकमा मस्कले आफ्नो पारिश्रमिकको अधिकतम लाभ लिनका लागि टेस्लाको बजार मूल्य अहिलेको १.४ ट्रिलियन डलरबाट बढाएर ८.५ ट्रिलियन डलर पुर्याउनुपर्नेछ।
त्यसैगरी, उनले एक मिलियन स्वचालित ‘रोबोट्याक्सी’ गाडी व्यावसायिक रूपमा सञ्चालनमा ल्याउनुपर्नेछ।
तर बिहीबारको प्रारम्भिक सम्बोधनमा उनले ‘अप्टिमस रोबोट’ मा ध्यान केन्द्रित गरेसँगै धेरैजना विश्लेषक र टेस्लाका शुभचिन्तकहरू निराश बनेका छन् । उनीहरू मस्कले पुन इलेक्ट्रिक गाडी व्यवसायमा ध्यान दिएको हेर्न चाहन्थे ।
अमेरिकी नियामक निकायहरूले अहिले टेस्लाको स्वचालित ड्राइभिङ प्रणालीमाथि अनुसन्धान गरिरहेका छन् । किनभने ती गाडीहरू रातो बत्ती पार गरेर वा गलत लेनमा चलेका घटनाहरूमा दुर्घटना र चोटपटकका केस देखिएका छन्।
टेस्लाको शेयर मूल्य सामान्य व्यापारपछि केही बढेको छ र पछिल्लो छ महिनामा यो ६२ प्रतिशतले उकालो लागेको छ।
यसअघि मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकटता बढाएपछि कम्पनीको बिक्री घटेर निकै खराब अवस्थामा पुगेको थियो ।


















