
काठमाडाैं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) पुरुष यू–१९ एसिया कप शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुँदैछ । यू–१९ एसिया कपको यो १२औँ संस्करण हो ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, मलेसिया र आयोजक यूएई रहेका छन् । समूह ‘बी’ मा नेपाल, अफगानिस्तान, बंगलादेश र श्रीलंका परेका छन् ।
प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ को दुई खेल खेलिने छ । पहिलो दिनको खेलमा भारतले आयोजक यूएईको सामना गर्नेछ । उक्त खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउन्डमा १०:४५ बजे शुरू हुनेछ ।
पहिलो दिनको अर्को खेल पाकिस्तान र मलेसियाबीच खेलिने छ । उक्त खेल दुबईस्थित द सेभेन्स स्टेडियममा सोही समयमा शुरू हुनेछ ।
नेपालले आफ्नो दोस्रो खेल डिसेम्बर १५ तारिखमा बंगलादेशसँग र तेस्रो खेल डिसेम्बर १७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।
प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमीफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उप–विजेतासँग भिडन्त गर्नेछ ।
समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उप–विजेताबीच अर्को सेमिफाइनल खेल खेलिने छ । दुवै सेमिफाइनल खेल डिसेम्बर १९ तारिखमा हुनेछ ।
सेमिफाइनलमा विजयी हुने दुई टोलीबीच डिसेम्बर २१ तारिखमा उपाधिका लागि भिडन्त हुनेछ । फाइनल खेल आईसीसी एकेडेमी ग्राउन्डमा खेलाइने छ ।
बंगलादेश प्रतियोगिताको साविक विजेता हो । सन् २०२४ मा सम्पन्न ११औँ संस्करणको फाइनलमा बंगलादेशले भारतलाई ५९ रनले हराउँदै उपाधि चुमेको थियो ।
भारतले हालसम्म आठपटक यो प्रतियोगिताको उपाधि जितिसकेको छ । बंगलादेशले पनि दुईपटक उपाधि चुमेको छ । पाकिस्तान र अफगानिस्तानले पनि एक–एक पटक उपाधि हात पारेका छन् ।
सन् २०१२ को फाइनल खेल भारत र पाकिस्तानबीच खेलिने कार्यक्रम थियो । तर, खेल सम्भव नभएका कारण दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषित गरिएको थियो ।
१२औँ संस्करण खेल्न नेपाल क्रिकेट संघ (क्यान) ले अशोक धामीको कप्तानीमा टोली घोषणा गरेको छ । उप–कप्तानको भूमिकामा विकेटकिपर निरज यादव छन् ।
टोलीमा दिलसाद अली, अभिषेक तिवारी, सिबरिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल क्षेत्री, आसिस लोहार, नितेश कुमार पटेल, चन्दन राम, रोसन बीक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री छन् ।
नेपालले यसअघि नौपटक यू–१९ एसिया कपमा सहभागिता जनाइसकेको छ । सन् २०१२ मा नेपालले पहिलो पटक यो प्रतियोगिता खेलेको थियो ।
मलेसियामा आयोजित उक्त प्रतियोगितामा नेपाल समूहगत चरणबाटै बाहिरिएको थियो । त्यतिबेला भारत र पाकिस्तानसँग पराजित भएको नेपालले मलेसियालाई एक सय सात रनले हराएको थियो ।
सन् २०१३–१४ मा यूएईमा आयोजित संस्करणमा पनि नेपाल समूहगत चरणबाटै बाहिरिएको थियो । पाकिस्तान र भारतसँग पराजित भएको नेपालले आयोजक यूएईलाई चार विकेटले हराएको थियो ।
सन् २०१६ मा श्रीलंकामा सम्पन्न पाँचौँ संस्करणमा पनि नेपाल समूहगत चरणबाटै बाहिरिएको थियो । श्रीलंका र भारतसँग पराजित भएको नेपालले मलेसियालाई एक विकेटले हराएको थियो ।
सन् २०१७ मा मलेसियामा सम्पन्न छैटौँ संस्करणमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । समूहगत चरणमा बंगलादेशसँग हारेको नेपालले भारतलाई १९ रन र मलेसियालाई आठ विकेटले हराएको थियो ।
त्यसपछि प्रतियोगिताको सेमिफाइनलमा नेपाली टोली अफगानिस्तानसँग सात विकेटले पराजित भएको थियो । त्यो संस्करणको उपाधि नै अफगानिस्तानले जितेको थियो ।
यसैगरी, सन् २०१८ मा बंगलादेशमा सम्पन्न सातौँ संस्करणमा नेपाल समूहगत चरणबाटै बाहिरिएको थियो । भारत र अफगानिस्तानसँग पराजित भएको नेपालले यूएईलाई तीन विकेटले हराएको थियो ।
सन् २०१९ मा श्रीलंकामा सम्पन्न आठौँ संस्करणमा पनि नेपाल समूहगत चरणबाटै घर फर्किएको थियो । श्रीलंका र बंगलादेशसँग हारेको नेपालले यूएईलाई एक सय ६० रनले हराएको थियो ।
यसैगरी, सन् २०२१ मा यूएईमा सम्पन्न नवौँ संस्करणमा नेपाल समूहगत चरणमा बंगलादेश, श्रीलंका र कुवेतसँग पराजित हुँदै समूहगत चरणबाट बोहिरिएको थियो ।
सन् २०२३ मा यूएईमा सम्पन्न १०औँ संस्करणमा पनि नेपाली टोली अफगानिस्तान, पाकिस्तान र भारतसँग पराजित हुँदै समूहगत चरणबाटै घर फर्किएको थियो ।
यसैगरी, सन् २०२४ मा यूएईमै सम्पन्न ११औँ संस्करणमा पनि नेपाल समूहगत चरणबाटै बाहिरिएको थियो । श्रीलंका र बंगलादेशसँग हारेको नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको थियो ।
यसपटक भने नेपाली टोली यूएईमै आयोजित एसीसी यू–१९ प्रिमियर कपमा अब्बल प्रदर्शन गर्दै एसिया कपमा छनोट भएको हो । १४ राष्ट्र सहभागी प्रिमियर कपमा नेपाल उप–विजेता बनेको थियो ।
लगातार सबै खेल जित्दै प्रिमियर कपको फाइनलमा पुगेको नेपाली टोली उपाधि भिडन्तमा भने यूएईसँग २७ रनले पराजित भएको थियो ।
प्रिमियर कपबाट नेपाल र यूएईसँगै मलेसिया पनि यू–१९ एसिया कपमा छनोट भएको हो । प्रिमियर कपमा ओमानलाई ७४ रनले हराउँदै मलेसिया तेस्रो भएको थियो ।

















