अमेरिकाद्वारा भेनेजुएलाको तेल बोकेको ट्यांकर कब्जा

19

एजेन्सी । अमेरिकाले भेनेजुएलाको तेल बोकेको अर्को पानीजहाज (ट्यांकर) कब्जा गरेको छ।

शनिबार भेनेजुएलाको तेल बोकेर एशियातर्फ जाँदै गरेको पानीजहाज भेनेजुएलाकै तटीय क्षेत्रबाट अमेरिकाले कब्जा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी समुद्री सुरक्षाकर्मीले सेनाको सहयोगमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा यात्रारत पानीजहाजलाई नियन्त्रणमा लिएको हो।

अमेरिकी गृहमन्त्री कृष्टी नोएमले पानीजहाजमाथि हेलिकप्टर उडिरहेको दृश्यको भिडिओ सार्वजनिक गर्दै सूर्योदय हुनुअघि कार्बाही सम्पन्न भएको बताएकी छन्।

भेनेजुएलाको तेल बोकेको ट्यांकर अमेरिकाले कब्जा गरेको यो दोस्रो घटना हो।

यसअघि डिसेम्बर १० मा इरानसँग सम्बन्धका कारण प्रतिबन्धित ‘स्किपर’ नामक ठूलो तेल ट्यांकर अमेरिकाले नियन्त्रणमा लिएको थियो।

ट्रम्प प्रशासनले प्रतिबन्धित तेल ट्यांकरहरूलाई रोक्ने नीति घोषणा गरेसँगै समुद्री निगरानी कडा बनाएको छ।

तर शनिबार रोकिएको जहाज भने कुनै अमेरिकी प्रतिबन्धमा नपरेको अधिकारीले बताएका छन्। ट्यांकरका कर्मचारीहरूले अमेरिकी कारबाहीमा प्रतिरोध नगरेको जनाइएको छ।

अमेरिकी कारबाहीपछि भेनेजुएलाका विदेश मन्त्री इभान गिलले यसलाई समुद्री डकैती भनेका छन्।

घटनापछि इरानका विदेशमन्त्री अब्बास अराघ्चीले भेनेजुएलाका समकक्षी गीलसँग कुराकानी गरेका छन्।

गिलले  पनि टेलिग्राममार्फत इरानी विदेश मन्त्री अब्बास अराघ्चीसँग आफ्नो वार्ता भएको  र क्यारेबियन क्षेत्रमा उत्पन्न भएका धम्की, खतराहरू र भेनेजुएलाको तेल बोकेका जहाज कब्जा भएको घटनालाई संयुक्त रूपमा सामना गर्ने प्रस्ताव आएको बताए।

ट्रम्प प्रशासनले हालै प्रतिबन्धित तेल ट्यांकरहरूलाई निस्कन नदिने चेतावनी दिएका छन्।

यसअघि अमेरिकी सेनाले क्यारिबियन क्षेत्रमा हजारौं सैनिक र युद्धपोत परिचालन गरी लागुऔषध तस्करीमा संलग्न भएको भनिएका डुंगाहरूमा आक्रमण गर्दै आएको छ।

अमेरिकी आक्रमणहरूमा १०४ जनाको मृत्यु र २९ वटा डुंगा नष्ट भएको सिएनएनले लेखेको छ।

उपराष्ट्रपति डेलेसी रोड्रिगेजले अमेरिकाले “निजी जहाज चोरी” गरेको आरोप लगाउँदै संयुक्त राष्ट्र सुरक्षा परिषद्, अन्य बहुपक्षीय संस्था तथा विश्व सरकारहरूसमक्ष मुद्दा उठाउने चेतावनी दिएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here