काठमाडौं । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १२४औं बोर्ड बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गरेको छ ।
दशौं राष्ट्रिय खेलकुदसँगैप्रथम पारा राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि खेल संख्या र खेलाडी कोटाका सम्वन्धमा कार्यकारी समितिले छलफल गरी सिफारिस गर्ने तथा तयारी सम्बन्धमा प्रदेश खेलकुद र विभागीय टिमहरुलाई पत्राचार गर्ने निर्णय भएको छ ।
बैठकले सन २०२६ मा जापानमा आयोजना हुने २०औं एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने निर्णय पनि गरेको छ ।
‘हामी फलोअप गरिरहेका छौं, ठूलो रकम भएकाले स्वीकृत भइसकेको छैन, हामी पहल गरिरहेका छौं र स्वीकृत हुनासाथ वितरण गर्नेछौं’ मन्त्री गुप्ताले भनेका छन् ।
राखेपकी कार्यसमिति सदस्य सुवर्णा श्रेष्ठले यसअघि पनि खो खो टोलीलाई पुरस्कार वितरण गर्ने विषयमा पहलकदमी गर्दै आएको र यसपटक पनि उक्त विषयलाई प्राथमिकतामा राखेर फलोअपका लागि ध्यानाकर्षण गराएको जानकारी दिएकी छन् ।
बैठकमा परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, सदस्य सचिव रामचरित्र मेहता, राखेप बोर्ड सदस्यलगायतको उपस्थिति थियो ।


















