खोटाङ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र पाएका छन् । विसं २०१३ फागुन–७ गते जन्मनुभएका उहाँले पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र पाएका हुन् ।
आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरु शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनुपरेकाले ढिलै भए पनि नागरिकता लिएको उनले बताएका छन् । ‘म सानै उमेर (१४ वर्ष)को हुँदा साथीहरुसँग घरबाट भागेर रोजगारीको सिलसिलामा भारत गएँ । उताबाट फर्किएपछि कञ्चनपुरमा आएर मजदुरीको काम गर्न थालेँ । त्यहाँ काम गर्दागर्दै स्थानीय लीला भट्टसँग विवाह गरें’, उनले भने, ‘हाम्रो २२ र आठ वर्षीया दुई छोरी छन् । जेठी छोरी अहिले कक्षा–१२ मा पढ्दै छिन् । उनलाई मेरो नागरिकता चाहिने भएपछि मैले जिल्ला आएर नागरिकता लिएको हुँ ।’
झण्डै सात दशकपछि प्राप्त भएको नागरिकताको प्रमाणपत्रले केशरबहादुरको परिवारमा नयाँ आशा थपेको भतिज श्यामकुमारले बताए । ‘सानै उमेरबाट सम्पर्कविहीन हुनुभएका काका ५६ वर्षपछि घर आउनुभयो । लामो समयसम्म सम्पर्कविहीन हुनुभएको व्यक्ति घर आएपछि परिवारमा खुसीयाली छाएको छ’, उनले भने, ‘नागरिकता बनाउनका लागि उहाँसँग कुनै प्रमाण थिएन । करिब हप्ता दिन लगाएर सबै प्रमाण जुटायौँ । आज जिल्ला प्रशासन कार्यालयले काकालाई नेपाली नागरिकताको प्रमाणपत्र दिएपछि हर्षित हुनुभएको छ ।’
चेतना अभाव भएकाले बुबाआमाबाट नागरिकता नबनाउँदा जिल्लाका धेरै परिवारमा जन्मिएका छोराछोरीमा समस्या देखिने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नागरिक नेपाली नागरिकताको प्रमाणपत्र पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले आफू सरुवा भएर खोटाङ आउनासाथ सहज वातावरण निर्माण गरेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जनाइन् ।

















