काठमाडौं । कानुन व्यवसायीहरुले अघिल्ला दिनहरु जस्तो आफ्नो परिचय पत्रको आधारमा सिंहदरबार प्रवेश गर्न नपाउने भएका छन् ।
उनीहरुले पनि अब अरु सर्वसाधारणहरुले जस्तै नागरिक एपबाट पास लिनुपर्ने नियम लागु गरिएको छ । यो नयाँ नियमप्रति कतिपय कानुन व्यवसायीहरुको असन्तुष्टि छ ।
उनका अनुसार प्रशासकीय अदालतका पदाधिकारी र कर्मचारीहरुले सम्बन्धित निकायको आधिकारिक परिचयपत्रको आधारमा, कानुन व्यवसायीले नागरिक एपको सिंहदरबार गेटपासको आधारमा, मुद्दाका पक्ष वा वारेसले सम्बन्धित पक्ष/वारेसको तारेख पर्चाका आधारमा र अन्य सबैले प्रशासकीय अदालतको दैनिक इ–पासको आधारमा प्रवेश पाउने छन् ।
नयाँ नियमप्रति कतिपय कानुन व्यवसायीले असन्तुष्टि जनाएका छन् । अधिवक्ता विनोदमणि भट्टराईले प्रशासनिक अदालत सिंहदरबारभित्रै रहेको र तर त्यहाँ पुग्न पनि पास लिनुपर्ने व्यवस्था व्यवहारिक नभएको बताए । उनले नयाँ नियममा पुनरविचार गर्न आग्रह गरे ।
‘कानुन व्यवसायीबाट पनि कतिपय साथीहरु नीति निर्माण गर्ने थलो प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । उहाँहरुले यो अप्ठ्यारो फुकाउन पहल गर्नुहुन्छ भन्ने विश्वास छ,’ भट्टराईले भने ।


















