इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इजरायल र लेबनानबीच भएको १० दिने युद्धविरामको खबरलाई स्वागत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘साहसिक र बुद्धिमानी कूटनीतिक प्रयास’ को प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री सरिफले लेबनानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताप्रति पाकिस्तानको ‘अविचलित समर्थन’ रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
यसै साता अमेरिकाको वासिङ्टनमा इजरायल र लेबनानबीच भएको वार्तालाई छिमेकी राष्ट्रहरूबीचको कूटनीतिक सम्बन्ध स्थापनातर्फको एक ऐतिहासिक कदमका रूपमा हेरिएको छ। यो विकासक्रम गत साता पाकिस्तानको मध्यस्थतामा भएको इरान र अमेरिकाबीचको वार्ता असफल भएलगत्तै आएको हो।
इरान, अमेरिका र इजरायलबीच हाल जारी दुई हप्ताको युद्धविराम गराउन इस्लामावादले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। उक्त सम्झौताको अवधि थप गर्न कूटनीतिक प्रयास स्वरूप पाकिस्तानका थल सेनाध्यक्षले बिहीबार तेहरानमा इरानी अधिकारीहरूसँग भेटघाट गरेको समाचारहरू सार्वजनिक भएका छन्।

















