-प्रशान्त डंगाेल
नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक पहिचानले समृद्ध देश हो । यहाँको सांगीतिक परम्परा केवल मनोरञ्जनको साधन मात्र नभई सामाजिक, धार्मिक तथा सांस्कृतिक जीवनको अभिन्न अंगको रूपमा विकसित भएको छ । विशेषगरी बासुरी, खिं, झ्याली, ताय्, धिमय्, भछ्या, धां, नाय्खिं, सारंगि, मुर्चुंगा, पञ्चेबाजा, नौमती बाजा, दमाहा, नर्सिंहा, शहनाई आदी बाजाहरूले नेपाली समाजको मौलिकता झल्काउँछन्, इतिहास गुन्जिरहन्छन, लोक भाकाले जिवन्तता पाइरहन्छन । तर पछिल्लो समय पश्चिमी शैलीका ब्रास ब्यान्ड, न्याउली ब्याण्ड लगायत बाजाहरूको तीव्र प्रवेशसँगै यी परम्परागत बाजाहरू ओझेलमा पर्न थालेका छन् । यो समस्या केवल सांस्कृतिक मात्र नभई राजनीतिक उदासीनताको परिणाम पनि हो । राज्यले सांस्कृतिक संरक्षणलाई प्राथमिकता नदिँदा विदेशी प्रभावले मौलिक परम्परालाई दबाएको छ । सांस्कृतिक नीतिहरू कमजोर हुनु, बजेटको अभाव, र स्थानीय तहमा प्रभावकारी कार्यान्वयन नहुनु यसको मुख्य कारण हुन् ।
समस्या र विकृति-विसंगति
पश्चिमी ब्रास ब्यान्ड, न्याउली ब्येण्डको आवाज ठुलो निस्कने र पर पर सम्म पनि ध्वनी प्रदुर्शनको समस्या निम्तिने गरेको छ । यी ब्याण्डहरुको प्रयोग विशेषतः सांस्कृतिक कार्यक्रमहरु जस्तै विस्का जात्रा, लाखे नाच, येंया जात्रा, विवाह, ब्रतबन्ध, नाय: लुइगु, थकाली लुइगु, राष्ट्रिय उत्सव भोज तथा सार्वजनिक समारोहमा बढ्दै गएको छ । यति मात्रै हैन यी ब्रास ब्याण्ड, न्याउली ब्याण्डले नेपली लोक गाठा, लोक भाका, स्तुती, देवदेवीको गान, भजन, ऋतु अनुसारको फरक गाना बजाउनुका सतो नेपाली, हिन्दि आधुनिक गित बजाएर नेपाली संस्कृतिको धज्जी उदाईरहेको छ । यस विषयमा बुद्धिजिवि भनाउदाहरु संग छलफल अन्तरक्रिय संचालन गर्दा पनि ठोस निचोद ननिस्कदा मौलिक बाजा खलकहरु मानसिक चपेतामा परेका छन् । यत्ति मात्रै हैन मौलिक बाजाहरू विस्थापित हुने अवस्था सम्म पुगेका छन् र यसले निम्न समस्याहरू उत्पन्न गरेको छ:।
• अनुकरणवादी प्रवृत्ति: पश्चिमी शैलीलाई आधुनिकताको प्रतीक मान्ने सोचले आफ्नै संस्कृतिप्रति हीनभावना बढाएको छ।
• धार्मिक तथा संस्कारगत विचलन: विभिन्न संस्कारहरूमा प्रयोग हुने मौलिक बाजाहरू हट्दा धार्मिक विधि र अर्थमा पनि परिवर्तन आएको छ।
• ध्वनी प्रदुर्शन : पश्चिमा ब्रास ब्येण्ड , न्याउली ब्येण्ड नेपाली समाजमा भित्रिय संगै अनावसेक ध्वनी प्रदुर्शन बध्न थालेको छ ।
• प्रतिस्पर्धा : नकारात्माक प्रतिस्पर्धा हाबि हुदै जानुका साथै, एकले अर्काको अस्तित्व नस्विकार्ने परिपाति बढ्दै गएको छ ।
• सांस्कृतिक पहिचानको क्षय: परम्परागत बाजाहरूले बोकेको ऐतिहासिक र सांस्कृतिक सन्देश हराउँदै गएको छ।
• स्थानीय कलाकारहरूको रोजगारी संकट: खिं, पछिमा, झ्याली, ताय्, बासुरी, धां, धिमाय्, पञ्चेबाजा र नौमती बाजा बजाउने समुदाय बेरोजगार बन्न थालेका छन्।
समाधानका उपायहरू
१. नीतिगत व्यवस्था सुदृढीकरण
सरकारले मौलिक बाजाहरूको संरक्षणका लागि स्पष्ट नीति निर्माण गर्नुपर्छ । विवाह, जात्रा, तथा सरकारी कार्यक्रमहरूमा अनिवार्य रूपमा नेपाली बाजा प्रयोग गर्ने कानुनी व्यवस्था गर्न सकिन्छ ।
२. आर्थिक प्रोत्साहन र सब्सिडी
पञ्चेबाजा तथा नौमती बाजा बजाउने समूहलाई अनुदान, भत्ता तथा प्रोत्साहन उपलब्ध गराइनुपर्छ । यसले कलाकारहरूलाई पेशामा टिकाइ राख्न मद्दत पुर्याउँछ ।
३. शिक्षा प्रणालीमा समावेश
विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा नेपाली सांगीतिक परम्परालाई समावेश गर्नुपर्छ । यसले नयाँ पुस्तामा चेतना अभिवृद्धि गर्छ ।
४. सांस्कृतिक अभियान र जनचेतना
मिडिया, स्थानीय सरकार तथा संघसंस्थाले मौलिक बाजाको महत्वबारे अभियान सञ्चालन गर्नुपर्छ ।
५. अनुसन्धान तथा अभिलेखीकरण
मौलिक बाजाहरूको इतिहास, प्रविधि र महत्वबारे अनुसन्धान गरी अभिलेख तयार गर्नुपर्छ, जसले दीर्घकालीन संरक्षणमा मद्दत पुर्याउँछ ।
६. स्थानीय तहको भूमिका सशक्त बनाउने
नगरपालिका तथा गाउँपालिकाले स्थानीय स्तरमा मौलिक बाजाको संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
निष्कर्ष
पश्चिमी ब्रास ब्यान्ड, न्याउली ब्याण्डको प्रभावलाई पूर्ण रूपमा निषेध गर्नु समाधान होइन, तर मौलिक सांगेतिक, सांस्कृतिक सम्पदाको संरक्षण गर्दै सन्तुलन कायम गर्नु अति आवश्यक भैसकेको छ । यदि राज्य, स्तथानिय निकाय्, समाज र सांस्कृतिक अभियन्ताहरूले समयमै ठोस कदम नचाले नेपाली मौलिक बाजाहरू इतिहासको पानामा मात्रै सीमित हुने खतरा बढ्दै जानेछ ।
अतः, सांस्कृतिक स्वाभिमानको रक्षा गर्दै आधुनिकताको सह-अस्तित्व सुनिश्चित गर्नु आजको प्रमुख राजनीतिक तथा सामाजिक दायित्व हो ।


















