रोल नं १’ एउटा जीवन्त किताब हो

4

 

काठमाडौं । गत शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शन भइरहेको चलचित्र ‘रोल नं १’ को राजधानीमा विशेष प्रदर्शनी (स्पेशल स्क्रिनिङ) आयोजना गरिएको छ  ।

निर्माण टिमले सोमबार आयोजना गरेको स्पेसल स्क्रिनिङमा उपस्थिती नेपाली रजतपटका हस्ती, हास्य कलाकार र राजनीतिज्ञहरूबाट चलचित्रले सोचेभन्दा उत्कृष्ट प्रतिक्रिया बटुलेको छ ।

विशेष प्रदर्शनीमा सहभागीहरुले चलचित्रको विषयवस्तु र प्रस्तुतिलाई मुक्तकण्ठले प्रशंसा ‘रोल नं १’ विद्यार्थीभन्दा पनि अभिभावकले हेर्नुपर्ने सिनेमा भएको बताएका छन् ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो चलचित्र हेर्न निर्देशक तुल्सी घिमिरे, कलाकार जितु नेपाल, कमलमणी नेपाल, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’, अभिनेत्री अञ्जना बराइली, निता ढुगांना, सञ्चिता लुइटेल, गरिमा शर्मा, पञ्चमी घिमिरे, लुनिमा तुलाधार, सरिता गिरी, हास्यव्यङ्ग्य रियालिटी शो ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारी, हाँस्यकलाकार भरतमणी पौडेल, मेक्सम गौडेल, अभिनेता हरिहर अधिकारी, पूर्वमन्त्री तथा राष्टिय सभा संसद सुनिल बहादुर थापा, एन-प्याब्सनका महासचिव आरबी कटुवाल लगायतको उपस्थिती रहेको थियो ।

चलचित्र हेरेर निस्किएका हाँस्य कलाकार जितु नेपालले चलचित्रको संवाद र सन्देशको प्रशंसा गरे ।  उनले भने, “हामीले जहिले पनि बच्चालाई कक्षाकोठाको नम्बरमा मात्र सीमित गर्यौं । तर यो चलचित्रले प्रस्ट पारेको छ कि कोठाभित्रको नम्बरले मात्र जीवनको नम्बर निर्धारण गर्दैन । शिक्षालाई सीपसँग जोड्नुपर्ने आजको आवश्यकतालाई फिल्मले निकै सान्दर्भिक रूपमा उठाएको छ ।”

त्यस्तै, अर्का लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले चलचित्रलाई एउटा ‘किताब’ को संज्ञा दिए । उनले भने, “यो चलचित्रभन्दा पनि एउटा पढ्नुपर्ने किताब जस्तो लाग्यो । विशेषगरी दुर्गम क्षेत्रको शिक्षा र एउटा बुबाले छोराको भविष्यका लागि गर्ने संघर्षले मेरो मन छोयो ।”

यो चलचित्र हेर्न पुगेकी कलाकार लुनिभा तुलाधरले ‘रोल नं १’ हरेक अभिभावकले हेर्नुपर्ने सिनेमा भएको बताइन् ।

“यो चलचित्र हेरेपछि मलाई रोल नं १ विद्यार्थीले त हेर्नुपर्छ नै तर अभिभावकले हेर्नुपर्ने सिनेमा रहेछ भन्ने लाग्यो,” लुनिभाले भनिन्, “हरेक अभिभावकले यो सिनेमा हेर्नुपर्ने रहेछ । आफ्नो छोराछोरीको रुचि केमा छ, उसले के गर्न चाहन्छ, के पढायो भने अथवा गरायो भने त्यसमा मन लगाउँछ भन्ने थाहा पाउन पनि यो सिनेमा हरेक अभिभावकले हेर्नैपर्छ ।”

अभिनेत्री सञ्चिता लुइँटेलले चलचित्रको लेखन र प्रस्तुतिलाई ‘मर्मस्पर्शी’ भन्दै यसले किताबी ज्ञानभन्दा ‘सीप’ ठूलो हो भन्ने सन्देश प्रभावकारी ढंगले दिएको बताइन् ।

उनले भनिन्, “चलचित्रको लेखन र प्रस्तुति निकै राम्रो छ । यसले शिक्षालाई केवल किताबी ज्ञानमा मात्र सीमित नगरी ‘सीप’सँग जोडेको छ । आजको पुस्ताका बालबालिका र उनीहरूका अभिभावकले एकपटक यो फिल्म हेरेर धेरै कुरा सिक्न सक्छन् । फिल्मका संवाद र भावनाहरू निकै मर्मस्पर्शी छन् ।”

अभिनेता हरिहर अधिकारीले फिल्मलाई ‘ब्युटिफुल’ भन्दै फिल्म हेरिरहँदा आफूलाई आफ्नै स्कुल जीवन र परीक्षाको डरको याद आएको बताए । उनले भने, “फिल्म एकदमै राम्रो र ‘ब्युटिफुल’ छ। विशेषगरी बाबु र छोराको सम्बन्ध, पढाइ र संघर्षको कथाले मलाई निकै छोयो । फिल्म हेरिरहँदा मलाई आफ्नै स्कुल जीवनको याद आयो । परीक्षाको बेला हुने डर र बुवाको संघर्षका कथाहरू यसमा निकै जीवन्त ढंगले उतारिएको छ ।”

अभिनेत्री नीता ढुंगानाले फिल्म हेर्दा आफू निकै भावुक भएको र यसले बालबालिकामाथि थोपरिने पढाइको दबाबलाई वास्तविक रूपमा चित्रण गरेको प्रतिक्रिया दिइन् । “फिल्मको विषयवस्तु निकै बलियो छ । बालबालिकाको मनोविज्ञान र उनीहरूमाथि थोपरिने पढाइको दबाबलाई फिल्मले राम्रोसँग देखाएको छ । फिल्म हेर्दा निकै इमोशनल भइने रहेछ,” अभिनेत्री नीताले भनिन् ।

विशेष प्रदर्शनीमा सहभागीहरूको एउटै स्वर थियो, किताबी ज्ञानले मात्र जीवन चल्दैन, सीप र रुचि चिन्नु नै वास्तविक शिक्षा हो । उनीहरूले यो चलचित्रलाई शैक्षिक चेतना फैलाउने एउटा महत्वपूर्ण माध्यमको रूपमा परिभाषित गरेका छन् ।

चलचित्रका मुख्य कलाकार मुकुन्द पोखरेल र रेनु नाथ योगीको अभिनयलाई सबैले ‘जीवन्त’ भनेका छन् । विशेषगरी आमा र छोराको सम्बन्ध, र बुबाको सपनाका बीचमा पिसिएको एउटा बालकको भूमिकामा रहेका बाल कलाकारको कामको चौतर्फी प्रशंसा भएको छ ।

चलचित्र हेरेर निस्किएका सेलिब्रेटीहरुको एकमत प्रतिक्रिया छ- यदि तपाईं आफ्ना बालबालिकाको मनोविज्ञान बुझ्न चाहनुहुन्छ र हाम्रो शिक्षा प्रणालीको वास्तविकता हेर्न चाहनुहुन्छ भने ‘रोल नं १’ एकपटक हेर्नै पर्छ ।

स्पेशस स्क्रिनिङमा पुगेका कलाकारले किताबी ज्ञानमात्रै भन्दा पनि सीप ठूलो कुरा हो भन्ने सन्देश ‘रोल नं १’ले दिएको बताए ।

आफ्ना छोराछोरीलाई ‘पढ–पढ’ भनेर दबाब दिने बाबुआमा र शिक्षक शिक्षिकाले हेर्नै पर्ने सिनेमा रहेको उनीहरूको निष्कर्ष छ ।

बच्चाको रुचि जे मा छ, ऊ त्यसमा मात्रै सफल हुन्छ, त्यसैले बेलैमा उसको इच्छा के मा छ भनेर पहिचान गरेर त्यही पढाउन सिनेमाले प्रेरित गर्ने भएकाले अभिभावकले हेर्नै पर्नेमा उनीहरूको जोड छ ।

बच्चालाई प्रेसर दिएरभन्दा पनि बुझाएर र रुचि पहिचान गरेर अगाडि बढ्नु पर्नेमा उनको जोड छ । शैद्धान्तिक ज्ञानभन्दा सिपले जीवन चलाउने हो भन्ने सन्देश दिने भएकाले यो सिनेमा हेर्नै पर्नेमा कलाकार तथा दर्शकको जोड छ ।

जोन योञ्जनको निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठको छ । चलचित्र अहिले देशभरका विभिन्न हलहरुमा प्रदर्शन भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here