“ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम” सफलतापूर्वक सम्पन्न

5

काठमाडौं । सक्षम नेपाल
ज्ञानेश्वरकाे आयोजनामा ६ दिने “ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ।

फरक क्षमता भएका व्यक्तिहरूको क्षमता, सीप तथा प्रतिभाको विकास र सामाजिक समावेशीकरणका लागि निरन्तर कार्यरत संस्था सक्षम नेपालको आयोजनामा तथा काठमाडौं महानगरपालिका वडा नं. ३० को सहयोगमा  “ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम”  गत जेठ २० गतेदेखि २५ गतेसम्म ज्ञानेश्वरस्थित प्राइम फुटसलमा दैनिक मध्यान्ह १२ बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा १२ जना दृष्टिविहीन तथा न्यून दृष्टि भएका खेलाडीहरूको सक्रिय सहभागिता रहेको थियो। प्रशिक्षण अवधिभर सहभागीहरूले ब्लाइन्ड फोल्डको प्रयोगमार्फत ब्लाइन्ड फुटबलका आधारभूत सीप, खेलका नियम, प्रविधि तथा खेल सञ्चालनसम्बन्धी विविध पक्षहरूको व्यावहारिक अभ्यास गरेका थिए।

कार्यक्रमको समापन समारोहमा काठमाडौं महानगरपालिका वडा नं. ३० का अध्यक्ष श्री दलबहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा वडा सदस्य मनोजकुमार डंगोल, शर्मिला श्रेष्ठ, वडा सचिव देवराज जोशी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रशिक्षण कार्यक्रमका मुख्य प्रशिक्षक सन्देशकृष्ण श्रेष्ठ र सत्यमान लामा रहनुभएको थियो भने सहायक प्रशिक्षकका रूपमा राजेश खड्गी र बिरु कमल श्रेष्ठ ले सहजीकरण गर्नुभएको थियो। प्रशिक्षण समापनको अवसरमा रातो र निलो टोलीबीच मैत्रीपूर्ण ब्लाइन्ड फुटबल खेल आयोजना गरिएको थियो। अत्यन्त प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा निलो टोलीले १–० गोल अन्तरले विजय हासिल गर्‍यो। निलो टोलीका शंकर थिङ ले गरेको निर्णायक गोल नै खेलको जित सुनिश्चित गर्ने आधार बन्यो।

कार्यक्रममा सहभागी सम्पूर्ण खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै, अनुशासित खेलाडीका रूपमा सन्देश स्याङ्बो लाई नगद रु. १,००० सहित सम्मान गरिएको थियो भने विजयी गोलकर्ता शंकर थिङ लाई पनि नगद रु. १,००० सहित विशेष सम्मान प्रदान गरिएको थियो।

सहभागी खेलाडी किरण दाहाल ले यस्ता कार्यक्रमहरूले दृष्टिविहीन खेलाडीहरूमा आत्मविश्वास, उत्साह र खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै काठमाडौं महानगरपालिका वडा नं. ३० तथा सक्षम नेपालप्रति आभार व्यक्त गर्नुभयो।

समापन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष दलबहादुर कार्की ले फरक क्षमता भएका व्यक्तिहरूको खेलकुद विकास तथा क्षमता अभिवृद्धिका लागि वडा सधैं सकारात्मक र प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सक्षम नेपालसँगको सहकार्यलाई निरन्तरता दिँदै यस्ता रचनात्मक तथा समावेशी कार्यक्रमहरूलाई प्रोत्साहन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सहभागी खेलाडीहरूको लगनशीलता, अनुशासन र खेलप्रतिको समर्पणको प्रशंसा समेत गर्नुभयो।

त्यसैगरी, सक्षम नेपालका अध्यक्ष बिरु कमल श्रेष्ठ ले वडाको सहयोगमा पहिलोपटक ब्लाइन्ड फुटबल प्रशिक्षण कार्यक्रम आयोजना गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण प्रशिक्षक, खेलाडी, सहयोगी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता समावेशी तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

“दृष्टिविहीनता कमजोरी होइन, फरक क्षमता हो” भन्ने मूल सन्देशका साथ सम्पन्न उक्त कार्यक्रमले दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिहरूको खेलकुद सहभागिता, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक समावेशीकरणलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here