काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसद्बाट पारित गराउने कार्ययोजना तय गरेको छ ।
शिक्षासचिव चुडामणि पौडेलले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्नका लागि पनि सरकारले उक्त ऐन आगामी आर्थिक वर्षभित्र संसद्बाट पारित गराउने कार्ययोजना तय गरी शिक्षा तथा खेलकुद मन्त्रालय अघि बढेको जनाएका हुन् ।
सचिव पौडेलले विद्यालय तहमा देखिएको शिक्षकहरूको दरबन्दीको समस्या पनि उक्त ऐन आएपछि स्वतः हल भएर जाने जिकिर गरे । ‘स्थानीय तहमा शिक्षाको एक किसिमको अधिकार दिइएको अवस्था छ । प्रदेशमा त्यहीँ छ । र संघमा पनि छ । यसलाई व्यवस्थित बनाउने भनेको शिक्षा ऐन हो । आउने आर्थिक वर्ष भित्रमा नेपाल सरकारले शिक्षा ऐन पारित भन्ने हिसावले मन्त्रालयले कार्ययोजना बनाएर अघि बढिसकेको छ । त्यो आएपछि विद्यालय शिक्षासँग रहेका शासकीय सन्दर्भमा, गुणस्तरमा देखिएको समस्याको सन्दर्भमा धेरै विकृति र शिक्षक म्यानेजमेन्टका सन्दर्भमा देखिएका समस्यालाई त्यसले समाधान गर्छ नै,’ उनले भने ।
सरकारले उक्त ऐन ल्याउन नसक्दा विद्यालय शिक्षामा प्रशानिक तथा व्यवस्थापकीय दुवै समस्या देखिएको सचिव पौडेलले बताए ।
उनले विद्यालय शिक्षाको गुणस्तर बढाउन पनि तीन वटै तहका सरकारहरूले मिलेर काम गर्नुपर्ने अवस्था रहेको बताए ।


















