-दीपा शाही (पूर्व मिसेस नेपाल २०१४ सामाजिक अभियन्ता तथा मनोसामाजिक परामर्शदाता)
बालबालिकाको मानसिक स्वास्थ्यले उनीहरूको सोच, भावना, व्यवहार, सिकाई क्षमता तथा सामाजिक सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्दछ। परिवारभित्रको वातावरण, अभिभावकको व्यवहार, विद्यालयको अनुभव तथा सामाजिक सम्बन्धले बालबालिकाको मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्। जुन बालबालिकाले परिवारबाट माया, सुरक्षा र सम्मान प्राप्त गरेका हुन्छन्, उनीहरूमा सकारात्मक सोच, आत्मविश्वास तथा समस्या समाधान गर्ने क्षमता राम्रोसँग विकास भएको पाइन्छ।
तर परिवारभित्रको तनाव, अभिभावकबीचको विवाद तथा झगडा, अत्यधिक दबाब, उपेक्षा, हिंसा वा सामाजिक सञ्जालको असन्तुलित प्रयोगले बालबालिकामा डर, चिन्ता, निराशा, आक्रोश तथा नकारात्मक व्यवहारहरू देखिन सक्छन्। यस्ता समस्याहरूले बालबालिकाको वर्तमान मात्र होइन, भविष्यमा पनि विभिन्न चुनौतीहरू सिर्जना गर्न सक्छन्। त्यसैले यस्ता अवस्था तथा समस्याहरूलाई समयमै पहिचान गरी उचित सहयोग उपलब्ध गराउनु अत्यन्त आवश्यक हुन्छ।
यस सन्दर्भमा सकारात्मक अभिभावकत्व (Good Parenting) को भूमिका अत्यन्त महत्त्वपूर्ण देखिन्छ। सकारात्मक अभिभावकत्व भन्नाले बालबालिकालाई प्रेमपूर्वक व्यवहार गर्ने, सम्मान गर्ने, आवश्यक सुरक्षा प्रदान गर्ने, नयाँ कुरा सिक्न मार्गदर्शन गर्ने तथा उनीहरूको क्षमता र व्यक्तित्व विकासमा सहयोग पुर्याउने प्रक्रियालाई बुझिन्छ। यसका साथै बालबालिकासँग गुणस्तरीय समय बिताउने, उनीहरूका कुरा ध्यानपूर्वक सुन्ने तथा जीवनका सकारात्मक मूल्य र व्यवहार सिकाउने कार्य पनि सकारात्मक अभिभावकत्वका महत्वपूर्ण पक्षहरू हुन्।
वर्तमान समयमा धेरैजसो बालबालिकाहरू मोबाइल, ग्याजेट, ल्यापटप, ट्याब्लेट तथा गेमिङतर्फ आकर्षित भएका देखिन्छन्। यस्ता प्रविधिको प्रयोगलाई पूर्ण रूपमा रोक्नुभन्दा पनि त्यसका सकारात्मक र नकारात्मक पक्षबारे जानकारी गराउनु आवश्यक हुन्छ। साथै, कति समय प्रयोग गर्ने र कति समय अन्य सिर्जनात्मक तथा शारीरिक गतिविधिमा सहभागी हुने भन्ने स्पष्ट समय व्यवस्थापन गरिदिनुपर्छ।
बालबालिकाले गल्ती गर्दा दण्ड दिनुभन्दा पनि त्यसलाई सिक्ने अवसरका रूपमा प्रयोग गर्नुपर्छ। गलत कार्यको सम्भावित परिणाम र त्यसले पार्न सक्ने असरबारे स्पष्ट रूपमा बुझाउनुपर्छ। दैनिक रूपमा केही समय छुट्याएर बालबालिकासँग भलाकुसारी गर्ने, दिनभरका अनुभवहरू साटासाट गर्ने तथा उनीहरूको भावना बुझ्ने प्रयास गर्नु आवश्यक छ। यसले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई अझ बलियो बनाउँछ।
त्यसैगरी, स्वस्थ र पोषणयुक्त खाना, नियमित दिनचर्या, पर्याप्त आराम तथा सकारात्मक जीवनशैलीका बारेमा पनि बालबालिकालाई सिकाउनुपर्छ। सानै उमेरमा सबै सही–गलत निर्णय गर्न सक्ने क्षमता विकसित भइसकेको हुँदैन। त्यसैले अभिभावकले उचित निगरानी, मार्गदर्शन र सहयोग प्रदान गर्नुपर्छ। उमेरअनुसारको जिम्मेवारी र अनुशासन सिकाउँदा बालबालिकाको आत्मनिर्भरता र नेतृत्व क्षमता पनि विकास हुँदै जान्छ।
कम बोल्ने वा आफ्ना भावना व्यक्त गर्न कठिनाइ महसुस गर्ने बालबालिकालाई आफ्ना भावना खुलेर व्यक्त गर्न प्रोत्साहित गर्नुपर्छ। आवश्यक परेमा परामर्श सेवा तथा मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञको सहयोग लिन पनि हिच्किचाउनु हुँदैन।
बालबालिका राष्ट्रका अमूल्य सम्पत्ति तथा भविष्यका कर्णधार हुन्। त्यसैले उनीहरूको शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक स्वास्थ्यको संरक्षण र प्रवर्द्धन गर्नु परिवार, विद्यालय तथा समाज सबैको साझा जिम्मेवारी हो। सकारात्मक अभिभावकत्व र स्वस्थ पारिवारिक वातावरणमार्फत हामीले बालबालिकालाई आत्मविश्वासी, जिम्मेवार, आत्मनिर्भर तथा सफल नागरिकका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्छौँ।
“आजको सही पालनपोषणले भोलिको स्वस्थ र सफल भविष्य निर्माण गर्छ।”


















