सुकुम्बासीका लागि वैकल्पिक व्यवस्था नगराइएकाले मोर्चाबन्दी सुरु

1

काठमाडौं । उपत्यकाको सुकुम्बासी समस्या फेरि एकपटक सडक संघर्षको नयाँ केन्द्र बनेको छ। वैकल्पिक व्यवस्था नै नगरी आफूहरूलाई राखिएको होल्डिङ सेन्टरबाट समेत हटाउन थालेको भन्दै आक्रोशित सुकुम्बासीहरूले माइतीघर मण्डलमा सरकारविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन्।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हालै एक सूचना जारी गर्दै होल्डिङ सेन्टर खाली गर्न असार १९ गतेसम्मको अन्तिम समयसीमा तोकेको छ। गत वैशाख महिनामा काठमाडौँ उपत्यकाका नदीकिनारमा रहेका अनधिकृत बस्तीहरू हटाएपछि त्यहाँका विस्थापित बासिन्दालाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो। तर, उक्त अवधि सकिनै लाग्दा स्थायी विकल्प नदिएरै उठिबास लगाउन खोजिएको भन्दै भूमिहीनहरू आन्दोलित बनेका हुन्।
माइतीघर मण्डलमा भेला भएका आन्दोलनकारीहरूले वर्तमान सरकारले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि राज्यशक्तिको दुरुपयोग गरी दमन गरेको आरोप लगाएका छन्। प्रदर्शनमा सहभागीहरूले आवासको अधिकार सुनिश्चित गर, विकल्पबिना निष्कासन बन्द गर जस्ता नाराबाजी गर्दै तत्काल निष्कासन प्रक्रिया रोक्न र सम्मानजनक पुनर्स्थापनाको ग्यारेन्टी गर्न माग गरेका छन्।
उनीहरुले सुरक्षित वैकल्पिक बसोबासको व्यवस्था नगरिए आफूहरू बाध्य भएर पुरानै नदीकिनारका बस्तीहरूमा फर्कने उद्घोष गरेका छन्।
काठमाडौँ महानगर र बागमती सभ्यता समितिले नदी किनारलाई सुन्दर र अतिक्रमणमुक्त बनाउने अभियान चलाए पनि होल्डिङ सेन्टरबाट लखेटिएका नागरिक अब कहाँ जाने भन्ने प्रश्न अनुत्तरित नै छ। यसले असार १९ को समयसीमा नजिकिँदै गर्दा सुकुम्बासी र राज्य संयन्त्रबीच फेरि अर्को मुठभेड निम्तिने खतरालाई बढावा दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here