काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा रहेका व्यक्तिहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता शर्माले कम्युनिष्ट आन्दोलन कमजोर हुनु र लोकप्रियतावाद हावी हुनुमा स्वयं कम्युनिष्ट नेतृत्व नै जिम्मेवार रहेको धारणा राखे।
शर्माले कम्युनिष्ट विचारधाराका नाममा प्रयोग गरिएका सिद्धान्त र नारालाई जनताको जीवन र व्यवहारसँग जोड्न नेतृत्व असफल भएको टिप्पणी गरे। विचारलाई व्यवहारमा रूपान्तरण गर्न नसक्दा जनविश्वास कमजोर बन्दै गएको उनको धारणा थियो।
उनले मुलुकको कम्युनिष्ट आन्दोलनलाई नयाँ पुस्ताको नेतृत्वमा पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याए। वर्गीय, जातीय र क्षेत्रीय विभेदको अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाज निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले त्यसैको आधारमा समाजवादी हुँदै वैज्ञानिक समाजवादतर्फ अघि बढ्न सकिने धारणा राखे।
कार्यक्रममा झलनाथ खनालको पुस्तक विमोचन गरिएको थियो भने विभिन्न राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।


















