काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन बनाउने घोषणा गर्नुभएको छ ।
मङ्गलवार राष्ट्रिय सभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री लम्सालले साे प्रतिबद्धता व्यक्त गर्नुभएको हो । मन्त्री लम्सालले कर्णाली क्षेत्रका सडक र पुलको निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको जनाउनुभयो । हाल निर्माणाधीन सडक खण्डमा करिब नौ वटा पुल ‘डिजाइन एन्ड बिल्ड’ विधिबाट अगाडि बढाउने प्रक्रियामा रहेको जानकारी दिँदै उहाँले स्थलगत अध्ययनपछि आवश्यकताअनुसार थप पुलहरू निर्माण गरिने जनाउनुभयो । पुल र सडकको वास्तविक अवस्था बुझ्न र देखिएका समस्या समाधान गर्न आफू आगामी साउन ३ गते स्थलगत निरीक्षणमा जाने उहाँको धारणा थियो ।
मन्त्री लम्सालले भन्नुभयो, “हाल कायम रहेका एक लेनका सडकलाई तीन वर्षभित्र दुई लेनमा विस्तार गर्ने सरकारको लक्ष्य छ । यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लागत अनुमान तयार गरी काम सुरु गरिनेछ । पहिचान भएका पहिरोको दीर्घकालीन समाधानका लागि करिब २७ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ । आगामी तीन वर्षभित्र पहिरोको समस्या अन्त्य गर्ने गरी काम भइरहेको छ ।”
उहाँले मुगु लगायत कर्णालीका सडक सञ्जाल नपुगेका वा कच्ची सडक रहेका पालिका केन्द्रसम्म सुरक्षित सडक पुर्याउन पर्याप्त बजेट विनियोजन गरिएको र यसै वर्ष टेन्डर प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो । सडक दुर्घटना न्यूनीकरणका लागि सडकको स्तरोन्नति अनिवार्य रहेको उल्लेख गर्दै मन्त्री लम्सालले पहिरो नियन्त्रणका लागि सरकारले विशेष योजना अघि सारेको जनाउनुभयो ।
उत्तरी सीमासम्म सडक सञ्जाल विस्तार गर्ने कार्यलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको छ । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको यो सडक खण्डलाई सीमासम्मै पुर्याउने गरी काम अगाडि बढाइने मन्त्री लम्सालले सभालाई जानकारी दिनुभयो । स्थलगत निरीक्षणबाट फर्केपछि सडक र पुलको थप विस्तृत विवरण सदनमा पेस गर्ने उहाँले जानकारी गराउनुभयो ।


















