काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
आइतबार मृतक नेपालीका परिवारलाई भेट्न पुग्नुभएका नेता बस्नेतले मृतककी आमालाई भेटेर सो आर्थिक सहयोग रकम हस्तान्तरण गरे ।
सो रकम हस्तान्तरण गर्दे नेता बस्नेतले विकट जिल्लामा रहेका मृतकका परिवारको आर्थिक अवस्था कमजोर रहेको कारण आफुले तत्काल नगद १ लाख सहयोग गरेको जनाए ।
उनले मृतक नेपालीको बच्चालाई महानगरले सहयोग नगरे स्नातकसम्म निःशुल्क पढाउने समेत बचन दिए । नेता बस्नेतले यस अघि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी पहिरोमा परेर प्रभावित भएका ३०० भन्दा बढीलाई काठमाडौँ ल्याएर पढाएको समेत जानकारी गराए ।
नेता बस्नेतले सरकारले सवारीसाधनमा लगाउने भनिएको जरिवानाको मात्रा अन्तर्राष्ट्रिय स्तरको हेरेर लगाउन नहुने धारणा समेत राखे । उनले सवारी साधनका हकमा जरिवाना थोरै राखेर सचेतना कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
नेता बस्नेतले सरकारले वास्तविक सुकुम्वासीहरूको पहिचान गरेर व्यवस्थापन गर्न नसकेको टिप्पणी गरे । उनले सरकारले सय दिनमा प्रणालीलाई भत्काउने काम गरेको आरोप समेत लगाए । नेता बस्नेतले सरकार सय दिनमा प्रतिशोध साध्ने कुरामा बढी केन्द्रित भएको उल्लेख गर्दे जनमुखी काममा भने पछाडि रहेको टिप्पणी गरे ।


















