सबै पक्ष मिलेर सामाजिक सद्भाव बढाऔं

11

नेपाल विविधताले भरिएको देश हो । जाति, भाषा, धर्म, संस्कृति र परम्पराको यही विविधता हाम्रो राष्ट्रिय पहिचान र शक्ति हो । संविधानले पनि यही विविधतालाई सम्मान गर्दै सबै नागरिकलाई समान अधिकारको प्रत्याभूति गरेको छ । तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको बढ्दो प्रभाव, राजनीतिक ध्रुवीकरण र अफवाहको तीव्र फैलावटसँगै साना घटनाले पनि सामाजिक सद्भावमा असर पार्ने जोखिम बढ्दै गएको छ । सुनसरीमा भएको पछिल्लो घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न गरेको आग्रह यही सन्दर्भमा महत्वपूर्ण छ ।
कुनै पनि समाजमा घटना वा विवाद हुन सक्छन् । ती घटनाको अनुसन्धान, दोषीको पहिचान र कानुनी कारबाही राज्यको जिम्मेवारी हो । तर कुनै एक घटनालाई आधार बनाएर सम्पूर्ण समुदाय, धर्म वा समूहलाई दोषी ठहर गर्ने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि घातक हुन्छ । व्यक्तिगत गल्तीलाई सामूहिक अपराधका रूपमा चित्रण गर्दा सामाजिक सम्बन्धमा अनावश्यक तनाव सिर्जना हुन्छ, जसको असर लामो समयसम्म रहन सक्छ । नेपालले विगतमा सामाजिक सद्भावको बलियो उदाहरण प्रस्तुत गरेको छ । फरक–फरक धर्मावलम्बीले एकअर्काका चाडपर्वमा सहभागिता जनाउने, विभिन्न समुदायबीच आपसी सम्मान कायम रहने र कठिन परिस्थितिमा एकअर्काको साथ दिने परम्परा हाम्रो समाजको सकारात्मक विशेषता हो । यही संस्कृतिले नेपाललाई बहुलतावादी र सहिष्णु समाजका रूपमा चिनाएको छ । त्यसैले कुनै पनि घटनाले यो सद्भाव खलबल्याउने अवस्था आउन दिनु हुँदैन ।
यस्ता संवेदनशील घटनामा सबैभन्दा ठूलो जिम्मेवारी राज्यको हुन्छ । सरकारले घटनाको निष्पक्ष अनुसन्धान गर्नुपर्छ, दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही गर्नुपर्छ र नागरिकलाई सत्यतथ्य समयमै जानकारी गराउनुपर्छ । जब राज्यको संयन्त्र प्रभावकारी र विश्वसनीय देखिन्छ, तब अफवाह फैलिने सम्भावना कम हुन्छ । ढिलासुस्ती, अस्पष्टता वा राजनीतिक प्रभावका कारण अनुसन्धान कमजोर भयो भने समाजमा अविश्वास बढ्छ र त्यसलाई विभिन्न समूहले आफ्नो स्वार्थअनुसार प्रयोग गर्न सक्छन् । राजनीतिक दलहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कुनै पनि संवेदनशील घटनालाई राजनीतिक लाभ–हानिको चश्माबाट हेर्नु उचित होइन । उत्तेजक अभिव्यक्ति, अपुष्ट आरोप वा समुदायलाई विभाजित गर्ने भाषाले क्षणिक राजनीतिक लाभ दिन सक्छ, तर त्यसले सामाजिक सम्बन्धमा दीर्घकालीन क्षति पु¥याउँछ । दलहरूले आफ्ना कार्यकर्ता र समर्थकलाई संयमित रहन प्रेरित गर्दै कानुनी प्रक्रियामाथि विश्वास गर्न आग्रह गर्नुपर्छ ।
सामाजिक सञ्जालको प्रभाव अहिलेको समयमा सबैभन्दा चुनौतीपूर्ण पक्ष बनेको छ । पुष्टि नभएका सूचना, पुराना भिडियो, सम्पादित तस्बिर वा भ्रामक सामग्री केही मिनेटमै हजारौं मानिससम्म पुग्ने अवस्था छ । यस्ता सामग्रीले जनभावना भड्काउन सक्छन् । त्यसैले सामाजिक सञ्जाल प्रयोगकर्ताले कुनै पनि सामग्री साझा गर्नु अघि त्यसको सत्यता जाँच्ने बानी बसाल्न आवश्यक छ । नागरिक समाज, धार्मिक अगुवा, स्थानीय जनप्रतिनिधि र समुदायका अगुवाहरूले पनि सामाजिक सद्भाव जोगाउन सक्रिय भूमिका खेल्नुपर्छ । नेपालको भविष्य द्वन्द्व, अविश्वास र विभाजनमा होइन, आपसी सम्मान, सहिष्णुता र एकतामा सुरक्षित छ । जनधारणा साप्ताहिक

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here