धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्।
प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि उनले पदबाट राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमले मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने जानकारी दिए। उनका अनुसार मुख्यमन्त्री शाहले भोलि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।
एमालेले असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छन् । कांग्रेससँग १८ सांसद छन् भने नेकपासँग २१ र एमालेसँग ११ सांसद छन् । नेकपाका एक सांसद निलम्बित छन् । एमाले र नेकपाबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भइसकेको छ । जसका कारण शाहले विश्वासको मत प्राप्त गर्ने सम्भावना छैन ।
मुख्यमन्त्रीको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठन प्रक्रिया सुरु हुने भएको छ। नयाँ सत्ता समीकरणअनुसार नेकपा संसदीय दलका नेता खगराज भट्टलाई सुदूरपश्चिमको भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ । दुई दलबीचको प्रारम्भिक समझदारीअनुसार नयाँ सरकारमा नेकपाले मुख्यमन्त्री र तीन मन्त्रालय तथा एमालेले तीन मन्त्रालय पाउने बताइएको छ । यद्यपि मन्त्रालय बाँडफाँटबारे भने दुवै दलबीच औपचारिक सहमति भइसकेको छैन ।
अल्पमतको सरकार चलिरहेको सुदूरपश्चिममा अर्को संकट पनि छ । आर्थिक वर्ष सुरु भएको २६ दिन हुँदा पनि प्रदेश बजेट शून्यतामै रहेको छ । शाह सरकारले १ असारमा ल्याएको बजेट प्रदेशसभाबाट पारित नभएपछि प्रदेश बजेट शून्यतामा गएको हो ।
नेपाली कांग्रेसका शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी पहिलोपटक २०७९ माघ २६ गते र २०८१ साउन २० गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।


















