ग्यास सहज उपलब्ध गराउन ध्यानाकर्षणा

3

काठमाडौं । देशभर एलपी ग्यासको अभाव बढिरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट भइरहेको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले नियमित विक्रेता तथा डिलरलाई पन्छाएर उद्योग र बिक्री केन्द्रबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली थप अस्तव्यस्त बनेको जनाएका छन्। उनले उपभोक्ताले ग्यासका लागि अनावश्यक सास्ती खेप्नुपरेको भन्दै डिलरमार्फत नै सहज वितरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दु:ख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ,’ महासंघबाट जारी विज्ञप्तिमा छ । महासंघका अनुसार पछिल्लो चार महिनामा करिब ६० हजार टन ग्यास कम आयात भएको छ। साथै, बजारमा आवश्यकताभन्दा बढी करिब ८० लाख नयाँ सिलिन्डर छरिनु पनि वर्तमान अभावको एउटा कारण रहेको महासंघको दाबी छ। नयाँ सिलिन्डर बिक्रीसमेत नरोकिएको भन्दै महासंघले तत्काल नियन्त्रण नगरिए आगामी दिनमा ग्यास अभाव अझ गम्भीर बन्ने चेतावनी दिएको छ। महासंघले वास्तविक समस्या समाधानमा ध्यान दिन नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारसँग आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here