अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष बन्नुपर्नेमा जाेड

4

काठमाडौं । कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र र व्यावसायिक संस्था बन्नुपर्ने बताएकी छन्।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले अख्तियारले प्रमाणमा आधारित अनुसन्धान र अभियोजनमार्फत नागरिकमा विश्वास जगाउनुपर्ने जनाइन्। उनले अख्तियारको संस्थागत बल त्रास सिर्जना गरेर आफूलाई शक्तिशाली देखाउनेमा नभई निष्पक्षता, व्यावसायिकता र सुशासन कायम गर्न सक्ने क्षमतामा हुनुपर्ने धारणा व्यक्त गरिन्।

‘संस्थाको बल त्रास सिर्जना गरेर हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोग एकदम बलियो छौँ भनेर त्यो पगरी गुथ्ने संस्था हुनु हुँदैन,’ मन्त्री गौतमले भनिन्, ‘निष्पक्षता, व्यवसायिकता र सुशासन कायम गर्नका लागि, अझ भनौँ प्रमाणका आधारमा अनुसन्धान र अभियोजन हुन्छ भन्ने एउटा विश्वास जगाउने संस्था हुनुपर्छ।’

मन्त्री गौतमले अख्तियारको कामकारबाहीमा निष्पक्षता र व्यावसायिकता कायम हुनु आवश्यक रहेको बताउँदै आयोगप्रति नागरिकको विश्वास बलियो बनाउन प्रमाणमा आधारित अनुसन्धान र अभियोजनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

उनले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि अख्तियारजस्ता संवैधानिक निकाय प्रभावकारी, विश्वसनीय र स्वतन्त्र रूपमा सञ्चालन हुनुपर्ने धारणा राखिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here