काठमाडौं। सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका लागि सुरक्षित स्थानमा ‘रेस्क्यु’ गरिएको जनाएको छ।
सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले राणालाई जेनजी समूहबाट नभई अज्ञात समूहबाट सुरक्षा थ्रेट रहेको बताए। सरकारले सोही कारण उनलाई सुरक्षाका लागि सुरक्षित स्थानमा लगिएको उनको दाबी छ।
बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २० दशमलव ७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ।
त्यस्तै, बैठकले संघीय निजामती सेवा र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधनका लागि बनेका विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ।


















