काठमाडौं/ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा बनाउनका लागि नेपाली सेनासँग टुँडिखेलको दक्षिणपट्टीको भाग मागेको छ ।
दुई वर्षमा धरहरा निर्माण सकिने योजना अनुसार दुई वर्षका लागि टुँडिखेलको दक्षिणतर्फको एक छेउ मागिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले सञ्चारमाध्यमलाई जनाएका छन् । टुडिखेलदेखि अहिलेको हुलाक कार्यालय अगाडि रहेको आकाशे पुलबाट निर्माण सामग्री लैजान सजिलो हुने, सडकमा सवारी साधान गुड्न पनि अवरोध नहुने भएकाले नेपाली सेनासँग सो आग्रह गरेको साथै यसबारेमा सेनासँग पत्राचार भएको र प्रधान सेनापति पूर्णचन्द्र थापासँग टेलिफोन वार्ता भएको मानन्धरले जानकारी दिएका छन् ।
निर्माण कम्पनीले अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको खुला ठाउँमा निर्माण सामग्री राख्न सुरु गरेको छ । धरहरा कसले बनाउने, कसरी बनाउने भन्ने लामो विवादपछि हालै रमन कन्ट्रक्सन जेभीसँग निर्माण सम्झौता भएको हो । अब बन्ने धरहरा २२ तालाको हुनेभए पनि पहिलो धरहरा भन्दा केही बढी उचाइको हुनेछ । धरहराको गजुर ६९ दशमलव २ मिटर अग्लो हुने सहसचिव मानन्धरले जानकारी दिए ।
पहिलको धराहराबाट १० मिटर पूर्वतर्फ पहिलेकै ढाँचामा नयाँ धरहरा बनाइनेछ । धरहरामा लिफ्ट चढेर जाने व्यवस्था गरिने छ भने १०औँ तलामा धराहरा तथा इतिहासबारे प्रोजेक्टरबाट जानकारी दिने थिएटर हल रहने छ ।
अब बन्ने धरहराको २४ रोपनी जमिनमा फैलिनेछ । धरहरा क्षेत्रभित्र भूकम्पले भत्काएको पहिलेको धरहरालाई सिसाको फ्रेमभित्र राखिनेछ भने मनोरम बगैँचा, अन्डरग्राउन्ड पार्किङ समेत निर्माण गरिनेछ । बगैंचामा ५० फिट अग्लो हुने पानीको फोहोरा राखिने योजनासमेत छ ।
धरहराको शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको समय पर्खिएको प्राधिकरणको भनाइ छ । प्रधानमन्त्रीको समय मिलेपछि छिट्टै धरहराको शिलान्यास हुने सहसचिव मानन्धरले जानकारी दिए । उनले भने– ‘अहिले धरहरा शिलान्यासका लागि प्रधानमन्त्रीको समय माग्ने काम भइरहेको छ ।’


















