चाडपर्व लक्षित देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

5

काठमाडौं । नेपाल प्रहरीले दसैँ, तिहार, छठ तथा नेपाल संवत्लगायतका चाडपर्वलाई लक्षित गर्दै देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन गरेको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगी, लुटपाटलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै यात्रुको सुरक्षा र सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।

प्रहरी प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेका अनुसार चाडपर्व मनाउन स्वदेश फर्किने नागरिकको सुरक्षालाई ध्यानमा राख्दै देशभरका सीमावर्ती क्षेत्रका १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएका छन् । ती कक्षबाट नागरिकलाई चौबिसै घण्टा आवश्यक सहयोग, सुरक्षा र प्रहरी सेवा उपलब्ध गराइँदै आएको उनले बताए ।

सीमापारिबाट नेपाल आउने यात्रुलाई सम्भावित ठगी, लुटपाट तथा अन्य आपराधिक घटनाबाट सुरक्षित राख्न सहायता कक्ष सञ्चालनमा ल्याइएको काफ्लेले जानकारी दिए ।

चाडपर्वको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सबै जिल्ला प्रहरी कार्यालयमा कमान्ड सेन्टर स्थापना गरिएको छ । ती केन्द्रमार्फत सुरक्षा योजनाको कार्यान्वयन, निगरानी र आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, चाडपर्वका बेला यात्रुको चाप बढ्ने र सडक दुर्घटनाको जोखिमसमेत उच्च हुने भएकाले प्रहरीले प्रमुख राजमार्ग तथा संवेदनशील सडकखण्डमा निगरानी बढाएको छ । विशेषगरी काठमाडौंको नागढुंगादेखि चितवन जोड्ने सडकखण्डसहित देशका प्रमुख लोकमार्गमा सूचनामा आधारित जाँच तथा सुरक्षा निगरानीलाई तीव्रता दिइएको प्रवक्ता काफ्लेले बताए ।

लामो दूरीका यात्रुवाहक सवारीसाधनको सुरक्षित सञ्चालन सुनिश्चित गर्न प्रस्थानस्थलमै चालकको अनुमतिपत्र जाँच गर्नुका साथै लागुपदार्थ सेवन (लापसे) र मादकपदार्थ सेवन (मापसे) गरे–नगरेको परीक्षणलाई कडाइ गरिएको छ । साथै, सम्बन्धित यातायात व्यवस्था कार्यालय तथा प्राविधिक निकायसँगको समन्वयमा सवारीसाधनको यान्त्रिक अवस्था परीक्षण गरेर मात्र लामो दूरीका गाडीलाई प्रस्थान अनुमति दिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने कानुनी व्यवस्थाको पालना गराउन ट्राफिक प्रहरीले निगरानी बढाएको छ । चाडपर्वको समयमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउन तथा सम्भावित दुर्घटना र आपराधिक गतिविधि न्यूनीकरण गर्न सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here