देशमा विद्यमान व्यथिति हटाउन सबै एकजुट हुनुपर्नेमा जोड

5

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा रहेका भ्रष्टाचार, कुशासन, ढिलासुस्ती र राजनीतिक व्यथिति हटाउनका लागि सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

बडादसैँको मुख्य दिन विजयादशमीको अवसरमा बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने अनुभूति गराउन इमान्दार प्रयास, अठोट र सामूहिक मेहनत आवश्यक रहेको जनाएका हुन्।

विजयादशमीलाई असत्यमाथि सत्यको विजय प्राप्त भएको उत्सवका रूपमा स्मरण गर्दै प्रधानमन्त्री शाहले भनेका छन्, “आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ।”

दुर्गा भवानीले आसुरी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको पौराणिक सन्दर्भ उल्लेख गर्दै उनले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेद जस्ता नकारात्मक सोच त्याग्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त गरे।

भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजमा दसैँले सबै वर्ग, समुदाय र क्षेत्रलाई एउटै सूत्रमा बाँध्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले आ-आफ्नो क्षमताअनुसार सद्भाव, एकता, सम्मान र माया साटासाट गरेर पर्व मनाउन देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा अपिल गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here