वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यस वर्षको मध्यावधि निर्वाचनको परिणामले अमेरिका इतिहासमा ठूलो कदम पछाडि (प्रतिगमनतर्फ) गएको जनाएका छन् ।
निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको पराजयपछि आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले अझ ठूलो र बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘अमेरिका गत निर्वाचनको परिणामसँगै इतिहासमा ठूलो कदम पछाडि गएको छ,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘अमेरिकी नागरिक नडराऊ, हामी पहिलेभन्दा ठूलो र बलियो भएर फर्कनेछौँ ।’
गत मङ्गलबार सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले कंग्रेसका दुवै सदनमा बहुमत हासिल गर्ने भएको छ । यससँगै राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले दशकौँदेखि आफ्नो प्रभाव कायम राखेका कतिपय राज्य र निर्वाचन क्षेत्रमा समेत उल्लेख्य क्षति व्यहोरेको छ । मतगणना जारी रहेका केही क्षेत्रको परिणाम आउन बाँकी रहे पनि डेमोक्र्याटले दुवै सदनमा नियन्त्रण कायम गर्ने निश्चित भएको छ ।
निर्वाचन परिणामपछि रिपब्लिकन पार्टीभित्र पराजयको कारण र नेतृत्वको भूमिकाबारे बहस सुरु भएको छ । केही रिपब्लिकन नेताले महँगी, इरान युद्ध र सरकारका नीतिलाई पराजयको कारणका रूपमा औँल्याएका छन् । उपराष्ट्रपति जेडी भान्सले समेत युद्धको प्रभावलाई हारको एउटा कारण बताएका छन् ।
तर ट्रम्पले निर्वाचन परिणामपछि आफ्नो प्रशासनको नीतिमा परिवर्तन गर्ने सङ्केत दिएका छैनन् । बरु उनले आफ्नो निकट सहयोगी तथा कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन् । नोभेम्बर ६ मा घोषणा गरिएको उक्त नियुक्ति नोभेम्बर ९ देखि लागू हुनेछ । यसअघि उक्त जिम्मेवारी सम्हाल्दै आएकी सुसी वाइल्सले पद छाडेकी छन् ।
मिलर ट्रम्प प्रशासनको कडा आप्रवासन नीति र सामूहिक देशनिकाला अभियानका प्रमुख योजनाकार मानिन्छन् । उनको नियुक्तिलाई रिपब्लिकनको निर्वाचन पराजयपछि पनि ट्रम्प प्रशासनले आफ्नो नीतिगत दिशा नबदल्ने सङ्केतका रूपमा हेरिएको छ ।
मिलरको नियुक्तिप्रति डेमोक्र्याट नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् । सिनेटमा डेमोक्र्याटिक नेता चक शुमरले ट्रम्पले निर्वाचनको सन्देशबाट केही नसिकेको टिप्पणी गर्दै मिलरको नीतिविरुद्ध आफूहरू लड्ने बताएका छन् । प्रतिनिधिसभाका डेमोक्र्याटिक नेता हाकिम जेफ्रिजले पनि मिलरको नियुक्तिलाई गैरजिम्मेवार निर्णय भन्दै उनीसँग सहकार्य नगर्ने सङ्केत गरेका छन् ।
आगामी जनवरीदेखि कंग्रेसका दुवै सदनमा बहुमतसहित जिम्मेवारी सम्हाल्ने डेमोक्र्याटहरूले ट्रम्प प्रशासनका निर्णयमाथि निगरानी र अनुसन्धान अघि बढाउने तयारी गरेका छन् । विशेषगरी आप्रवासन नीति, सरकारी निकायको कामकारबाही र प्रशासनिक निर्णयलाई संसदीय छानबिनको दायरामा ल्याउने उनीहरूको योजना छ ।
यससँगै ट्रम्प प्रशासन र डेमोक्र्याट नेतृत्वबीच आगामी दुई वर्ष कंग्रेसमा नीतिगत तथा राजनीतिक टकराव बढ्ने सङ्केत देखिएको छ ।

















