ममता काफ्ले हत्या मुद्दाले निर्णायक मोड लियाे

4
काठमाडौं । अमेरिकाको भर्जिनियास्थित अदालतमा केही दिनअघि सुनिएको एउटा अन्तिम बहसले संसारभर छरिएका नेपाली समुदायलाई स्तब्ध बनायो। दुई वर्षभन्दा लामो प्रतीक्षा, अथक खोजी र अनगिन्ती आशंकाबीच चलेको ममता काफ्ले हत्या मुद्दाले अन्ततः एक निर्णायक मोड लिएको छ। अदालतले उनका श्रीमान् नरेश भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको अपमान गरेको तीनवटै अभियोगमा दोषी ठहर गरेको छ। तर, यो अदालती फैसलाको पछाडि एउटी नारीले भोगेको मौन यातना, अपराधको क्रूरता र न्यायका लागि परिवारले गरेको असह्य पीडाको लामो कथा लुकेको छ।

अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेका तथ्यहरूले एउटा भयानक यथार्थ बाहिर ल्याए। ममताले आफ्ना श्रीमानलाई घरमा ‘राजा’ सम्बोधन गर्ने गरेकी थिइन्। तर, सरकारी वकिल सारा सामीको मार्मिक शब्दमा भन्दा– त्यो घर कुनै प्रेम र सुरक्षाको छहारी थिएन, बरु नरेशको ‘यातनाको साम्राज्य’ थियो जहाँ उनी राजा बनेर शासन गर्दथे। ममताको फोन प्रयोगमा प्रतिबन्ध, आर्थिक पहुँचमा एकाधिकार र सवारीसाधनको उपयोगमा लगाइएको अंकुशले उनको वैवाहिक जीवनलाई स्वेच्छाचारी नियन्त्रण र निरन्तरको मनोवैज्ञानिक त्रासको बन्दीगृह बनाएको थियो।

यो क्रूरता कुनै अचानकको आवेशमा भएको घटना थिएन, यो त पूर्वनियोजित अपराध थियो भन्ने बलिया प्रमाणहरू अदालतमा पेश गरिए। ममता हराउनुभन्दा १६२ दिनअघि नरेशले पठाएको एउटा म्यासेज– “अब तिमीले पछुताउनुपर्ने दिन आउँदैछन्”– अभियोजन पक्षका लागि सबैभन्दा ठूलो कडी बन्यो। त्यो चेतावनीलाई सत्य साबित गर्दै १६२ दिनपछि नरेशले आफ्नो योजनालाई क्रूरतापूर्वक कार्यान्वयन गरेको थियो।

अदालतमा नरेशले दिएको बयान झनै विरोधाभासी र हास्यास्पद थियो। ममताले विष सेवन गरेर आत्महत्या गरेको र डराएर प्रहरीलाई खबर नगरी शव मात्र टुक्राटुक्रा पारेर फोहोरमा फालेको उसको दाबी थियो। तर, रगतका वैज्ञानिक प्रमाण, सीसीटीभी फुटेज, आरा खरिद गरिएका बिलहरू र वकिल सारा सामीको तर्कसङ्गत खण्डनले नरेशको झूठको महललाई भताभुङ्ग पार्दियो।

अन्तिम संस्कारबाट वञ्चित परिवारको पीडा यस मुद्दाको सबैभन्दा मर्माहत पक्ष भनेको ममताको शव फेला नपर्नु हो। भर्जिनियाको ल्यान्डफिल (फोहोरको थुप्रो) लाई ममताको ‘अन्तिम विश्रामस्थल’ बनाइएको भन्दै जब सरकारी वकिल सामीले अदालतमा परिवारले छोरीको लास त के, अन्तिम संस्कारसमेत गर्न नपाएको पीडा पोखिन्, तब इजलासमा उपस्थित ममताकी आमा, दाइ र शुभचिन्तकहरू भक्कानिएका थिए। एउटा मानिसको जीवन मात्र होइन, उसको अस्तित्व र अन्तिम संस्कारको अधिकारसमेत मेटाइदिने प्रयास यस घटनामा भयो।

आत्मग्लानिको एक थोपा भावसमेत अनुहारमा नदेखाउने नरेशलाई आगामी सन् २०२७ मार्च १२ मा हुने सुनुवाइमा आजीवन कारावाससम्मको सजाय हुनेछ।

अपराधीले कानुनी सजाय पाएसँगै न्यायको जित त भएको छ, तर ममताले गुमाएको जीवन र परिवारले भोग्नुपरेको यो वज्रपातको घाउ कहिल्यै पुरिने छैन।

 

न्यायाधीश र निर्णायक मण्डलसामु उभिएर सरकारी वकिल सारा सामीले एकपछि अर्को प्रमाण प्रस्तुत गर्दै:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here